• काठमाडौँ ।
    घटना नम्बर १ :

    जेठको अन्तिममा स्याङ्जा प्रहरी प्रमुखको कमान्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटा करिब पाँच महिनामा चार्ज बुझाएर जिल्ला छाड्न बाध्य भए ।

    जिल्ला भ्रमणमा गएको बेला भूमिसुधार मन्त्री पद्मा अर्याललाई निलो गाडीमा हतियार बोकेका प्रहरीसहितको स्कर्टिङ नदिएको अभियोगमा ट्राफिक प्रहरी महाशाखा तानिएका सापकोटाको ठाउँमा अर्का प्रहरी

    उपरीक्षक राजकुमार लम्साल हाजिर भएका छन् । विडम्बना, स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा मन्त्रीको अघिपछि लगाउन  मन्त्रीले खोजेजस्तो साइरन जडित गाडी नै थिएन ।

    घटना नम्बर २ :

    प्रमुख जिल्ला अधिकारीले गृहसचिव प्रेमकुमार राईलाई कमेन्ट गरेपछि दाङका प्रहरी उपरीक्षक (एसपी) कृष्णहरी शर्मा तीन महिना नपुग्दै काठमाडौं सरुवा भए ।

    कात्तिक १८ गते दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा एसपी शर्मा प्रहरी प्रधान कार्यालय तानिएका थिए ।

    घटना नम्बर ३ :

    महानरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख (डीएसपी) भेषराज रिजालले वृत्तको कमान्ड सम्हालेको तीन महिना पनि भएको थिएन । गएको भदौ २५ गते ठोस कारणबिना उनी महाराजगन्जस्थित दुई नम्बर गणमा सरुवा भए ।

    प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयका उच्च अधिकारीहरूले रिजालको सरुवाबारे जिज्ञासा राख्दा ठोस कारण बताउन चाहँदैनन् । तर शिक्षण अस्पताल महाराजगन्जमा राखिएको सीके राउतका एक कार्यकर्ताको शवको पोस्टमार्टममा ढिलाइ गरेको आरोपमा गृहसचिव प्रेमकुमार राईले रिजाललाई महाराजगन्जबाट हटाउन प्रहरी प्रधान कार्यालयलाई दबाब दिएका थिए ।

    माथिका तीन घटना पछिल्लो समय प्रहरीका कमान्डरहरूलाई कसरी रबर स्ट्याम्पमा परिणत गरिएको छ भन्ने उदाहरण मात्र हो ।

    घटना यत्तिमै सीमित छैन, शुक्रबार मात्रै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । गोरखा जिल्लाको कमान्ड सम्हालेको करिब ६ महिना पुग्दा नपुग्दै प्रधान कार्यालय तानिएका बस्नेतको ठाउँमा अर्का प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईलाई पठाइएको छ ।

    गोरखाका प्रमुख जिल्ला अधिकारी (सहसचिव) नारायण भट्टराईसँग बस्नेतको मनमुटाव भएपछि प्रजिअ भट्टराईको आग्रहमा गृहसचिव प्रेमकुमार राईले बस्नेतलाई प्रधान कार्यालयमा तान्न प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई दबाब दिएका थिए ।

    गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार सचिव राईले नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी उपहार दिएका छन् ।

    गृहमन्त्री पुत्र र सचिवको पञ्जामा प्रहरी 

    प्रहरी नियमावली २०७१ अनुसार सरुवा भएको मितिले एक वर्ष नपुगी सिनियर अफिसरहरूलाई सरुवा गर्न नसकिने व्यवस्था छ ।

    तर सोही नियमावलीको अर्काे बुँदामा ‘आवश्यकताअनुसार हेरफेर गर्न सकिने’ भन्ने प्रावधानको दुरुपयोग गर्दै प्रहरीका इन्चार्जहरू यसरी धमाधम तानिन थालिएको हो ।

    गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सोझोपनको फाइदा उठाउँदै मन्त्रीपुत्र प्रतीक थापा र गृहसचिव प्रेमकुमार राईले प्रहरीमाथि अनावश्यक हस्तक्षेप गरेका हुन् ।

    काठमाडौँ प्रहरी प्रमुखको कमाण्ड सम्हालेको केही महिनामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई हटाउन प्रतीक थापा र  गृहसचिव राईले ‘लबिङ’ नै गरेका थिए ।

    २०७४ माघ २९ गते काठमाडौं प्रहरी प्रमुखको कमान्ड सम्हालेको ६ महिनापछि पोखरेललाई तानेर अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामालाई पठाइएको थियो ।

    काठमाडौँमा कार्यरत रहँदा नक्कली नोट कारोबार र गुण्डागर्दी नियन्त्रणलगायतका काम गरेर चर्चा कमाएका पोखरेललाई हटाउनुअघि गृहमन्त्री पुत्र प्रतीक थापा र एसएसपी वसन्त लामाबीच नारायणहिटी सङ्ग्रहालयको उत्तर ढोकामा रहेको ‘ग्रिन लिफ’ रेस्टुरेन्टमा पटक–पटक भेटवार्ता भएको थियो ।

    एसएसपी लामा ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिका सदस्य हुन् ।

    जिल्ला इन्चार्जहरू अवधि नै नपुगी परिवर्तन गर्नुको कारण हुनुपर्ने बताउँछन्, पूर्वआईजीपी अच्युतकृष्ण खरेल । खरेल भन्छन्, ‘गलत काम गर्ने अफिसरलाई तानेर मात्र पुग्दैन्, दण्डित नै गर्नुपर्छ तर कानुनको परिधिमा रहेर काम गर्नेहरूलाई मौका दिनुपर्छ अन्थया यस्ता घटनाले अन्य अफिसरहरूको समेत मनोबल गिर्छ ।’

    गृहसचिव राईले प्रमुख जिल्ला अधिकारीहरूको कुरा सुनेर प्रहरीका इन्चार्जहरू फेरबदल गर्न प्रहरी महानिरीक्षक खनाललाई दबाब दिनेगरेको गृहमन्त्रालयका एक सहसचिवले रातोपाटीलाई जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखका रूपमा सरुवा भएको १५ दिनमै प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठसँग खटपट पर्न थालेपछि प्रहरी उपरीक्षक (एसपी) कृष्णहरी शर्माको दुर्दिन सुरु भएको थियो ।

    शर्मा प्रहरी प्रधान कार्यालय तानिनुअघि प्रजिअ श्रेष्ठ काठमाडौँ आएर गृहसचिव राईलाई भेटेका थिए । अन्ततः १६ महिनादेखि दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत श्रेष्ठकै आग्रहमा गृहसचिव राईले शर्मालाई प्रहरी प्रधान कार्यालयको बाटो देखाइदिए ।

    शर्माको स्थानमा बेलबहादुर पाण्डेले जिल्ला प्रहरी कार्यालय दाङको चार्ज बुझेका छन् ।

    पूर्वडीआईजी नवराज सिलवालको कार्य सम्पादन मूल्याङ्कन ‘कीर्ते प्रकरण’मा अनुसन्धान गरेर मुद्दा दायर गर्न अस्वीकार गरेपछि तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उनलाई दिपायल सरुवा गरेका थिए । तर तिनै पाण्डेलाई गृहमन्त्री पुत्र प्रतीकको आग्रहमा दाङ पठाइएको जानकारहरू बताउँछन् ।

    प्रतीकले प्रहरीको चेनअफ कमान्डमा खुलेरै हस्तक्षेप गर्ने गरेका छन् । गएको जेठ अन्तिम साता एसपी बढुवा गर्दा बढुवा समितिको बैठकमा प्रतीक आफै बसेको गृहमन्त्रालयका अधिकारीहरू बताउँछन् ।

    ‘सुरुमा पठाउँदा गलत मान्छे पठाएको पनि हुनसक्छ तर इन्चार्जहरू लगातार यसरी परिवर्तन गरिरहने हो भने त्यसको दुष्प्रभाव सुरक्षा व्यवस्थामा पर्छ’, पूर्व गृहसचिव चण्डीप्रसाद श्रेष्ठ भन्छन्, ‘एउटा इन्चार्जलाई कम्तीमा एक वर्ष काम गर्न दिनुपर्छ, यस्ता क्रियाकलापले स्थायित्व आउँदैन । सुरक्षा व्यवस्था लथालिङ्ग हुन्छ ।’

    स्याङ्जा जिल्लामा ड्युटीमा रहेका  प्रहरी जवान रामनारायण चौधरीलाई युवाको झगडाको निहुँमा हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले कुटपिट गरेका थिए ।

    मानन्धरविरुद्ध एसपी सापकोटाले मुद्दा चलाउने तयारी गरेपछि सापकोटा ट्राफिक प्रहरी महाशाखा तानिएका थिए । ठीक त्यहिबेला भूमिसुधार मन्त्री पद्मा अर्याललाई स्कर्टिङ नदिएको कुरा उठ्यो ।

    यसरी, राम्रो काम गर्दागर्दै प्रहरीमाथि अनावश्यक हस्तक्षेप गरेको बारे प्रतिक्रिया लिन सम्पर्क गर्दा गृहमन्त्री पुत्र प्रतीकको मोबाइल नम्बर स्विचअफ भएकाले सम्पर्क हुन सकेन ।रातोपाटिबाट

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…