• काठमाडौं, १६ माघ । प्रधानमन्त्रीका रुपमा आसीन खड्गप्रसाद शर्मा ओलीले बोली र कार्यशैलीमा एकरुपता नभएको भनी आलोचना हुने गरेको छ । ओलीले मिठा मिठा कुरामात्र गर्ने तर काम भने नमिठा गर्ने गरेको आरोप लाग्दै आएको छ ।

    उखानतुक्का भनेर हसाउने गरेका ओलीको बोलीमा सत्यता नभएको भनी आलोचना हुनुमा उनले चुनावका बेलामा गरेका भाषणहरु तथा त्यसपछि पनि बाँडेका आश्वासनहरु सरकार गठन भएको ११ महिना पुगिसक्दा समेत कुनै पनि किसिमको छेकछनक नदेखिएपछि त्यस्तो अवस्था आएको हो ।

    प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई खड्कोमा पार्ने मन्त्रीहरुको चर्चाले राजनितिक वृत तातेको धेरै दिन भइसक्यो । तर, पनि कुनै निष्कर्ष निस्किएको छ ।

    प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि र सुशासनका कुरा गरी पहिले केही नै हो कि जस्तो गरी केही कार्यहरु थालेपनि पछि गएर ती सबैजसो कार्यहरुबाट पछि हट्ने कार्य गरेकाले पनि उनको नेतृत्वमा भएको दुई तिहाईको सरकार केही गर्न नसक्ने सरकारका रुपमा परिणत हुन पुगेको छ ।

    सरकारले कुरा मात्र ठूलाठूला गरे पनि जनताको पक्षमा कुनै पनि किसिमको कार्य गर्न नसकेको भनी सर्वत्र आलोचना भैरहेको अवस्था छ ।

    ओलीमात्रको नभएर वर्तमान सरकारका सबैजसो आशा गरिएका मन्त्रीहरु नै आशाअनुसार कार्य नगरेको अवस्थामा छन् । सरकारमा दोस्रो ठूलो शक्तिशाली मन्त्रालय सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल शुरुवातमा राम्रा काम गर्ने आश्वासन दिएर झनै चर्चामा आएका थिए ।

    पछिल्लो समयमा आएर उनी आफ्नै कर्मले बदनाम हुन पुगेका छन् । सिण्डिकेट हटाउने नाममा तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका पदाधिकारीको सम्पत्ति छानविन गर्ने नाममा चर्चामा उनी रहे ।

    उनको चर्चा त्यतिमा सीमित नभई ठेकेदारलाई कारबाही गर्ने भनी ठाउँको ठाउँ हिन्दी चलचित्र ‘नायक’ मा अनिल कपूरले कारबाही गरे जस्तो कारबाहीमा उत्रने छाँट देखाएका उनी आफ्नै दल समर्थक ठेकेदारहरुको लर्को देखेपछि पछि हट्न बाध्य भएका थिए । उनको हालको कार्यकालमा शान्तिसुरक्षाको अवस्था झनै खतम भएको भनी आलोचना हुने गरेको छ ।

    यसैगरी रक्षामन्त्री ईश्वर पोखरेल रक्षामन्त्री बनेको अवस्थामा उनले पनि राम्रै काम गर्ने सोचमा उनका दलका नेताहरु आशावादी थिए । सेनालाई किन्ने गाडी र राष्ट्रपतिलाई किन्ने गाडी तथा हेलिकोप्टरका कारण उनी चर्चामा आए ।

    निर्मला पन्त हत्या प्रकरणका सम्बन्धमा दिएको आधारहीन अभिव्यक्तिले उनको बोलीको वजन नै घट्न पुगेको भनी नेकपाका कार्यकर्ताहरु नै उनको आलोचक बन्न पुगे ।

    यसैगरी प्रधानमन्त्री ओलीको बोलीमा लोली मिलाउनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ थिए । व्यापारिक पृष्ठभूमिका महासेठ मन्त्री बनेपछि ‘पुगिसरी आएका व्यक्ति हुन्, पैसा पैसा भन्दै नदगुर्लान्’ भन्ने सोचमा जनता रहेको अवस्थामा उनी यातायातको सिन्डिकेट हटाउनका लागि खुवै लागेपछि त जनतामा झनै आशा बढेको थियो ।

    तर, उनको अडान पनि टिक्न सकेन । श्रीमती जुली महतोको कुरालाई नकार्न नसकेपछि उनी आफ्नो पहिलेको निर्णयबाट पछि हट्दै गए । मन्त्री महासेठले सडक विभाग अन्तर्गतको सरुवा बढुवामा समेत राम्रै शुभलाभ गरेको भनी उनको चर्को आलोचना हुँदै आएको छ ।

    यस्तै मन्त्रीहरुमध्ये रानो मन्त्रीका रुपमा रोजगार तथा श्रममन्त्री गोकर्ण विष्टलाई लिइएको थियो । उनले सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात, विभिन्न मुलुकसँंग श्रम सम्झौता, वैदेशिक रोजगार व्यवसायीमाथि अंकुश, श्रम स्वीकृतिको विकेन्द्रीकरण लगायतका केही कुरामा उनले चर्चा पाए पनि आशातीत नतिजा उनले पनि निकाल्न सकेका छैनन् । उनको मन्त्रालयअन्तर्गत हुने ठगीमा कुनै पनि किसिमको कमी आएको छैन । अझ कतिपय व्यापारिक कार्यमा मन्त्री विष्टले आफ्ना मान्छेलाई सन्तुष्ट पार्न चाहेको भनी आलोचना भैरहेको छ ।

    सरकारका प्रवक्ता तथा संचार एवं सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा आफ्नै अभिव्यक्तिका कारणले विवादमा आइरहेका छन् । उनको कार्यशैलीको भन्दा पनि बोलीमा लगाम नलागेको भनी आलोचना हुने गरेको छ ।

    उनले सूचना लुकाउने गरेको तथा सम्पत्ति विवरणबारे झुठो विवरण भरेको तथा आफ्नो बारेमा कसैले प्रश्न गरेमा उसैलाई हटाउनेसम्मको कार्य गरी आफैं आलोचित बन्ने कार्य उनले गरेका छन् । अझ नेपाल दूरसंचार प्राधिकरण तथा नेपाल टेलिकमको नियुक्ति प्रक्रियामा समेत उनी विवादित बन्न पुगे ।

    पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी पनि जनस्तरबाट आशा गरिएका मन्त्रीमा पर्थे । उनी मन्त्री भएदेखि प्रचारमुखी भएका थिए । वाइडबडी खरिद प्रक्रियामा भएको घोटाला र यसबारे दिएका तथ्यहीन अभिव्यक्तिले उनी आफैं नराम्ररी फस्न पुगेका छन् ।

    वाइडबडी काण्डमा उनको प्रत्यक्ष संलग्नता रहेको अवस्थामा समेत उनले राजीनामा नगरी पदमा टाँसिइरहने नीति लिएका छन् । पहिले संचारमाध्यममा आउन चाहने तथा फोटोहरु पोष्ट गर्न रमाउने मन्त्री अधिकारी पछिल्लो समयमा भने मुटु लुकाएर गुपचुप बसेका छन् ।

    परराष्ट्रमन्त्रीका रुपमा रहेका प्रदीप ज्ञवालीलाई बौद्धिक नेताका रुपमा चिनिन्छ । तर पछिल्लो समय उनी अधिकांश समय विदेश शयरमा मस्त रहने गरेको आरोप लाग्दै आएको छ । राजदूत नियुक्तिदेखि अन्तर्राष्ट्रिय कूटनीतिक सम्वन्धमा उनले खासै रौनक ल्याउन सकेका छैनन् ।

    यस्तै हाल गुमना अवस्थामा पुगेका मन्त्रीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितको नाम अग्रपंतिमा आउँछ । निजामती कर्मचारीका विषयमा अनेक कुरा निकालेर उनी आफैं बद्नाम हुने मार्गमा लागिपरेको भन्ने आरोप लाग्दै आएको छ ।

    यसैगरी अर्थक्षेत्रका जानकार व्यक्ति अर्थमन्त्रीका रुपमा आएको भनी हर्षित भएको वर्ग अहिले अर्थमन्त्री डा। युवराज खतिवडाको कार्यशैली देखेर मर्माहत भएका छन् । उनले शेयरको आलोचना गरे । उनले शपथ खाएको दिनदेखि नै शेयर बजारमा ओरालो लागेको छ ।

    यसैगरी चुनावताका दिएको नारालाई पनि कुनै मतलब नगरी उनले आफ्नै ढंगको बजेट ल्याएपछि उनको आलोचना नेकपामै बढ्न पुगेको थियो । उनको राजीनामाको माग उनकै दलका नेता कार्यकर्ताले गरेका थिए । उनलाई प्रधानमन्त्री ओलीको साथ रहेका कारण उनको रौंसमेत हल्लिन भने पाएन ।

    उता, पुष्पकमल दाहालकी बुहारी समेत रहेका खानेपानी मन्त्री बिना मगरले दशैंको जमरामा मेलम्चीको पानी राखिदिने अभिव्यक्ति दिएपछि मेलम्चीको पानी काठमाडौं भित्रने भो भनी मख्ख पारेकी थिइन् ।

    उनको बोलीले मख्ख परेका काठमाडौंबासी गएको दशैंमा त के कुन दशैंसम्म मेलम्चीको पानी कुर्नुपर्ने हो भनी उनलाई धिक्कार्न थालेका छन् किनकि मेलम्चीको पानीको कुरा अझै टाढिने अवस्थामा पुगेको छ । मेलम्चीका ठेकेदार नै भाग्ने अवस्थामा पुगेका छन् ।

    यसैगरी माओवादीको पृष्ठभूमिबाट आएका शिक्षामन्त्री गिरिराजमणि पोखरेल चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गराउने नीति लिएका कारण उनको कुख्याति बढेको छ ।

    उनी सिटीइभीटीका निजी कलेजहरुको स्वार्थमा डुबेको आरोपसमेत लाग्ने गरेको छ । उनले डा। गोविन्द के।सी।का मागलाई कुनै मतलब नदिई जनविरोधी चिकित्सा शिक्षा विधेयक ल्याउने तयारीमा जुटेको आरोप लाग्दै आएको छ ।

    उता, उद्योगमन्त्रीका रुपमा आएका मातृकाप्रसाद यादवले आधारभूत काम समेत नगर्ने र संसदीय समितिको निर्देशनविरुद्ध गएको भनी उनको नकारात्मक चर्चा भैरहेको, नयाँ विमर्शमा उल्लेख छ। उनले पनि कुनै देखाउन लायक कार्य नगरेको भनी आलोचना नै बढी हुने गरेको छ ।

    यसैगरी भूमिसुधार मन्त्री बनेकी पद्मा अर्याल पनि पहिले चर्चामा आउने अहिले कुख्याति कमाउने मन्त्रीमा परिणत हुन पुगेकी छिन् । उनले कुनै पनि किसिमको सकारात्मक कार्य गर्न नसकेको भनी आलोचनामात्र बटुलेकी छिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…