मोरङ । चैत्र १३
नेत्रविक्रम चन्द (विप्लव) समूहलाई प्रदेश १ मा समेत ठुलो धक्का लागेको छ । कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) सहित बिभिन्न जिल्लाबाट कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेको छन ।
पक्राउ परेका पुष्कर सहित सुनसरी र भोजपुरबाट पक्राउ परेकाहरुलाई प्रहरीले संगठित अपराध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान समेत शुरु गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरबनबाट आइतबार साँझ पुष्कर र माधव गौतम पक्राउ परेका छन भने भोजपुरको टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका १ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरी मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
पक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हुन । भोजपुर सदरमुकाममा पक्राउ परेकाहरु सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । महेन्द्र तामाङलाई प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले बताए ।
यता मोरङमा पक्राउ परेकाहरुलाई सुनसरीबाट संगठित अपराध तथा हातहतियार मुद्दामा म्याद थप गरिएको हो । विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने सूचना पाएपछि पुगेको प्रहरीले श्रेष्ठ र गौतमलाई कानेपोखरी गाँउपालिकाबाट पक्राउ गरेको हो । अन्य भने फरार भएका थिए । उनीहरुलाई पक्राउ गरिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट सात किलोमिटर दक्षिणमा पर्छ । पक्राउ गरिएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको थियो । प्रहरीले उनीहरुका साथबाट नगद, उनीहरुले प्रयोग गर्ने मोबाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरु बरामद गरेको छ ।
को हुन् पुष्कर ?
घनश्याम श्रेष्ठ उर्फ पुष्करले माओवादी शान्ति प्रकृयामा आउनु अघि तत्कालीन माओवादी मोरङ इञ्चार्ज दिनेश शर्मा (सागर) को सहयोगीको रुपमा काम गरेका थिए । भूमिगत कालमा माओवादीले प्रकाशित गर्ने जनविद्रोह साप्ताहिक (हाल दैनिक) को व्यवस्थापकको जिम्मेवारी पनि सम्हालेका थिए उनले । माओवादी शान्ति प्रकृयामा आएपछि काठमाडौं बस्न थालेका श्रेष्ठ मिरमिरे एफएमको प्रशासनिक जिम्मेवारीमा थिए ।
प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीबाट मोहन वैद्य (किरण)को नेतृत्वमा पार्टी फुटेपछि उनी वैद्य समूहमा लागेका थिए । त्यसपछि वैद्य समूहबाट उनी विप्लवको कित्तामा लागेका थिए । विप्लवले नयाँ पार्टी गठन गरेपछि उनले मोरङ जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका थिए । श्रोत पूर्वेली न्युज