• काठमाडौँ, १८ चैत 

    राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

    हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति पनि समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    एकार्कालाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह

    उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताउनुभएको छ ।

    उहाँले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

    उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते हुनुभएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

    घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनस्र्थापना र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गर्नुभएको छ ।

    एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पष्ट पार्दै उहाँले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गर्नुभएको छ । अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैँ साथमा नै रहेको बताउँदै उहाँले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…