काठमाडौं। सन् २०२२ मा हुने विश्वकपको लागि कतारमा निर्माण भइरहेको फुटबल स्टेडियम निर्माणको क्रममा अहिलेसम्म कम्तीमा १४०० नेपाली कामदारको मृत्यु भएको जर्मनीको एक टेलिभिजनले दावी गरेको छ । स्टेडियम निर्माण सुरु भएपछि हालसम्म दोहामा बसोवासको अवस्थाका कारण तथा निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष ११० जनाको ज्यान जाने गरेको तथ्यांक छ । जर्मनीको टेलिभिजन डब्लुडिआरले एक डकुमेट्रीमा यी तथ्यांक प्रस्तुत गरेको मलेसियाको मिडिया भरियनले लेखेको छ ।
परिवारका सदस्यको मृत्युबाट प्रभावित एक परिवारले आफूहरुले दोहाबाट कुनै प्रकारको क्षतिपूर्ति नपाएको बताए । ‘ट्रयाप्ड इन कतार’ नाम दिइएको यो अनुसन्धानात्मक डकुमेन्ट्री शुक्रबार रिलिज गरिएको थियो । डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तुबिनै ठूलो संख्यामा बस्नुपर्ने खुलासा गरिएको छ ।
नेपालले अहिले आफ्ना नागरिकलाई कतारमा काम गर्न जान रोक लगाउने तयारी गरिरहेको छ तर ठूलो संख्यामा नेपालीहरु कतारमा काम गर्न जान चाहन्छन् । ३ वर्ष कतार बसेर आएका दिनेश रेग्मीका अनुसार एक दशकअघि कतारलाई विश्वकप आयोजना गर्न दिे निर्णय भएदेखि अहिलेसम्म नेपाली कामदारको अवस्था उस्तै छ ।
केही नेपाली कामदारहरु साइटबाट खसेर मर्छन् भने केही यहाँको गर्मी मौसमका कारण मर्छन् । ‘२ वर्षअघि म त्यहाँ हुँदा कमाइको आशामा आउने नेपाली कामदारको पीडा देखेको छु’ उनले भने ‘उनीहरुलाई बेसिक पारिश्रमिक र आधारभूत सुविधासमेत दिइँदैन ।’ नेपालको अध्यागमन विभागका एक अधिकारीले कतारमा नेपाली कामदारको अवस्थाबारे सरकार सचेत भएको भन्दै अरब न्यूजसँग भने ‘हामी कामदारलाई त्यहाँ जान प्रोत्साहित गर्दैनौं ।’