• काठमाडौं, ३१ जेष्ठ । बल्खुस्थित वाग्मती नदीको दुवै किनारामध्ये ललितपुरतर्फ मात्र बनेको छ करिडोर । काठमाडौंतर्फ भने झन्डै ५ सय मिटर हिलाम्मे बाटो छ । वर्षामा त झन् हिँड्न मुस्किल । बीचमा पानी जमेको छ । साना गाडीले त्यो बाटो प्रयोग गर्नै सक्दैनन् । ‘बीचबाट हिँड्न सकिने ठाउँ नै छैन । अर्कोतिर गोदाम छन्, गाडीहरू निस्किरहेका हुन्छन्,’ विद्यालयबाट छोरी लिएर त्यही बाटो घर फर्किँदै गरेकी एक महिलाले भनिन्, ‘गाडी, मोटरसाइकल जे आए पनि हिलो छ्यापेर हिँड्छन् । यो बाटो हिँड्न पनि डर छ ।’

    काठमाडौं महानगरपालिका वडा नं. १४ मा पर्ने जागरण टोल सुधार समितिका उपाध्यक्ष केबी राईले वडासँग पटकपटक बस्दा पनि ठोस निर्णय हुन नसकेको बताए । उनले भने, ‘दिनमा ३ सयभन्दा बढी गाडी यो बाटो भएर गुड्छन् । तर सडकको अवस्थाबारे भने सम्बन्धित निकायलाई चासो छैन ।’ शनिबारभन्दा बाहेक दैनिक ठूला मालवाहक ट्रक सामान ओसार्ने र अन्य गाडी पनि आवतजावत गर्ने गरेको उनी सुनाउँछन् । सुकुम्बासी बस्तीमा झन्डै साढे ४ सय घर छन् । खोलासँगै बस्ती र अर्कोतर्फ व्यापार संघ तथा गोदाम छन् ।

    सडक बनाउने बेला ढल मात्र बनाएर छाडेकाले अन्य पानीको उचित निकासनहुने र सडक नै हिलाम्मे बनेको राईले बताए । उनले भने, ‘यहाँ १८ देखि २२ चक्के गाडीसम्म हुन्छन् । सामान, खाद्यान्न, फलफूल लिएर आउँछन् । तर कसैले सडकमा ध्यान दिएका छैनन् ।’ उक्त क्षेत्रमा ग्यारेज पनि सञ्चालित छन् । आकाशे पानीको निकास नभएको स्थानीयको भनाइ छ । वडाध्यक्ष शोभा सापकोटाले भने आफूले पटकपटक प्रयास गर्दा पनि त्यो सडक निर्माणमा सफल नभएको बताइन् ।

    ‘वाग्मती सभ्यता आयोजनाले करिडोर बनाउने भनेर पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिएर ढल बनायो,’ उनले भनिन्, ‘तर मन्दिर, पेट्रोल पम्प, विद्यालय र बस्ती भएको त्यो ठाउँ अलपत्रै छाडियो । सडक निर्माणको कामै भएको छैन ।’ नजिकैको सामुदायिक विद्यालयमा उक्त क्षेत्रका प्रतिनिधिसभा सांसद, वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सबैलाई एक ठाउँ राखेर बैठक बस्दा पनि निष्कर्ष ननिस्केको उनले बताइन् । ‘८ मिटरभन्दा ठूलो बाटो महानगरपालिकाले हेर्ने नै होइन । त्यहाँ भएको सडक पनि भत्काएर ढल बनायो । तर घरको पानीको निकास भएन,’ सापकोटाले भनिन् ।

    उनका अनुसार त्यो सडक ढलानमा ५० करोड हाराहारी लाग्छ । यो वडाको बजेटले नभ्याउने साथै वाग्मती आयोजनाको कार्यक्षेत्र पर्ने भएकाले कतैबाट केही गर्न नसकेको उनको गुनासो छ । उनी भन्छिन्, ‘स्कुल पढ्ने बालबच्चा पनि हिँड्न सक्दैनन् । त्यहीँका स्थानीयलाई पैसा हाल्न लाएर सडक बनाउन पनि सकिन्न । आफ्नो तर्फबाट पहल गर्दा पनि आयोजनाले बनाइदिएन गुनासो भने वडामा आइहेको छ ।’ आजको कान्तिपुर दैनिकमा शिल्पा कर्णले लेखेकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…