२०७६ आषाढ ११ बुधवार
काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा उक्त सभाका सचिव राजेन्द्र फुयाँलले ‘विनियोजन विधेयक २०७६’ पेश गर्नुभयो ।
प्रतिनिधिसभाबाट सन्देशसहित सो विधेयक पठाइएको थियो । यसअघि बैठकको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामीण क्षेत्रमा रहेका क्याम्पसलाई सञ्चालन गर्न सरकारले दिने रकम वृद्धि गरी रु दश लाखदेखि १५ लाखसम्म पु¥याउन माग गर्नुभयो ।
सांसद दुर्गाप्रसाद चापागार्इंले मानो रोपेर मुरी उब्जाउने समयमा मलखाद अभाव भएकामा सरकारको ध्यानाकर्षण गराउँदै मलको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाहीको दायरामा ल्याउन जोड दिनुभयो । सांसद नन्दा चापागार्इंले राष्ट्रियसभाको विधायन समितिमा गुठीसम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक २०७५ माथि छलफल नै नभएको अवस्थामा पत्रपत्रिकाले झारा टार्ने तरिकाले छलफल भयो भन्नु गलत रहेको बताउनुभयो ।
सांसद बद्री पाण्डेले कञ्चनपुर पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनमा भाग लिन गएका नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्तामाथि सङ्घातिक हमाल गरिएकामा विरोध जनाउँदै सो घटनामा सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाउनुभयो ।
अर्का सांसद रमेशजङ्ग रायमाझीले काठमाडौँ उपत्यकाभित्र विशेषगरी साँझको समयमा बाटोमा हिँडिरहेका युवतीमाथि सिरिञ्ज रोप्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद प्रकाश पन्तले मौलिक हक कार्यान्वयनका लागि बनेका ऐन कार्यान्वयन गर्न विनियमावली ल्याउन माग गर्दै सामाजिक सुरक्षामा बजेट वृद्धि गर्न पनि जोड दिनुभयो ।
सांसद खिमलाल भट्टराईले आर्थिक समृद्धि हासिल गर्न नयाँ बजेटले सहयोग पु¥याउने चर्चा गर्दै बजेट वितरणमुखी नरहेको टिप्पणी गर्नुभयो । सांसद बद्री पाण्डेले बजेटको सिद्धान्त र व्यवहार बीचमा तालमेल नरहेको र शिक्षा तथा स्वास्थ्यमा कम बजेट विनियोजन गरिएकामा आपत्ति जनाउँदै प्रधानमन्त्री रोजगारी कार्यक्रममा विनियोजित रकम हिनामिना भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा विमला राई पौडेलले स्वदेशी उद्योग संरक्षणमा बजेटले प्राथमिकता दिनु सकारात्मक रहेको बताउनुभयो ।
विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
राष्ट्रियसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।
राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०७६’ माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटको खर्च गर्ने क्षमता सरकारसँग रहेको बताउनुभयो । उहाँले बजेटले आयातलाई क्रमशः प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिएको र आत्मनिर्भर अर्थतन्त्रको उन्नयनमा बजेट केन्द्रित रहेको उल्लेख गर्दै सामाजिक सुरक्षामा समेत बजेट वृद्धि गरी लोककल्याणकारी राज्यको अवधारणा समेत अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।
