• काठमाडौं । नेपालको संविधानविपरितका चाहना बोकेर भाजपा नेता, गुप्तचर प्रमूख प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्डलगायत प्रतिपक्षीका नेतालाई किन भेटिरहेका छन् ?

    काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ (रअ)का प्रमूख सामन्त गोयल काठमाडौंमा उच्च तहको भेटघाट गरी फर्किएको विवाद नसेलाउँदै भारतीय संस्थापनका सांसद हिन्दूत्वको नारा बोकेर सुटुक्क बालुवाटार छिरेका विवरण बाहिर आउन थालेका छन् ।

    नेपालको संविधानविपरितका चाहना बोकेर गुप्तचर प्रमूख र भारतीय संस्थापनका नेता बालुवाटार, खुमलटार, बुढानिलकण्ठतिर छिर्नुलाई अर्थपूर्ण मानिएको छ । कुटनीतिक रूपमा आएका पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेटेर नेपाल हिन्दू राज्य बन्नुपर्छ भनी सुझाव दिएको बताइएको छ ।

    ‘नेपाललाई संविधान संशोधन गरेर हिन्दू राज्य घोषणा गर्नका लागि भारतीय अधिकारीले सुझाव दिएका छन्, प्रधानमन्त्री ओलीले उक्त सुझाव सुन्नुभएको छ’, बालुवाटार उच्च स्रोतले भन्यो,‘यस विषयमा प्रधानमन्त्रीले बुझेर धारणा दिने बताउनुभएको छ ।’

    सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा राज्यसभा सांसद डा. सुब्रमन्यम् स्वामीले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति निकट मानिने स्वामीले नेपाललाई हिन्दू राज्य घोषणा गरी विश्वमा नै सबै हिन्दूवादीलाई खुशी बनाउनका लागि सुझाव दिएको स्रोतले जनायो ।
    यसअघि रअ प्रमूख गोयलले पनि हिन्दूत्वका विषयमा गम्भिरताका साथ सोचेर अघि बढ्नका लागि ओलीलाई सुझाव दिएको उच्च स्रोतहरूको दाबी थियो । विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्को कार्यक्रममा सहभागी हुनका लागि स्वामी काठमाडौं आएका थिए ।

    उनी गोयल फर्किनासाथ नेपाल छिरेका थिए । जसले उच्च तहका राजनीतिक नेतालाई समेत भेटेर यस विषयमा धारणा राखेका थिए । नेपाली कांग्रेसका प्रभावशाली नेता भेटेर पनि उनले नेपाललाई विश्वमा एकमात्र हिन्दू राज्यको परिचय दिलाउन सुझाव दिएका थिए ।

    नेपालमा भारतीय जनता पार्टीले हिन्दू राज्य बनाउनका लागि ठूलो लगानी गरेको आरोप पश्चिमा मुलुकले लगाउँदै आएका छन् । युरोपियन युनियन, अमेरिकालगायतका मुलुकले नेपालमा क्रिश्चियन धर्मको व्यापकता हुनुपर्ने जिकीर गर्दै कार्यक्रम गर्दै आएका थिए । अमेरिकाको एउटा प्रतिवेदनमा नेपालमा भाजपाले हिन्दूत्वका लागि लगानी गरेको उल्लेख गरेको थियो ।

    त्यसो त अमेरिकाको यो प्रतिवेदन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई विश्वमै एक मात्र हिन्दू मुलुक बनाउनुपर्ने अभिव्यक्तिपछि सार्वजनिक भएको थियो । आदित्यनाथले त नेपालमा राजसंस्था पनि अनिवार्य भएको धारणा व्यक्त गर्दै आएका छन् ।

    हिन्दू नभएसम्म संविधान नोटिस मात्रै !
    नेपालको संविधानलाई भारतीय प्रशासनले नोटिसमात्र गरेको छ । उसले उक्त संविधानमा हिन्दू राज्य भनी लेख्नका लागि दबाब दिएको थियो । भर्खरै काठमाडौं छिरेका रअ प्रमूख गोयलले पनि नेपालको संविधानमा हिन्दू लेखिए भारत सरकारले त्यसलाई अनुमोदन गर्ने र स्वागत गर्ने बताएको उच्च स्रोतको दाबी छ ।
    तत्कालिन विदेश सचिव तथा हालका भारतीय विदेशमन्त्री एस जयशंकर पनि सोही सन्देश बोकेर काठमाडौं आएका थिए । तर तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिन्दूत्व राख्न नसकिने बताएपछि नेपालमा भारतले नाकाबन्दी लगाएको थियो ।

    भारतीय प्रधानमन्त्री मोदीसहित त्यस प्रशासनका उच्च पदस्तले नेपाललाई सांकेतिक रूपमा धार्मिक गन्तव्यका रूपमा नै लिने गरेका छन् । त्यसैले मोदीका यस अघिका चार वटा भ्रमण पनि धार्मिक हिसाबले नै केन्द्रविन्दुमा रहे ।

    मोदीले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामलगायतको विशिष्ट भ्रमण गरेका थिए । यस्तै उनीबाहेकका अधिकारीको भ्रमण पनि सोही हिसाबले हुँदै आएको छ । गोयलले पनि सोमबारको दिन पारेर पशुपतिनाथको दर्शन गरे भने, स्वामीले पनि शनिबार पशुपतिको दर्शन गरी फर्किएका थिए ।

    राजावादीसँग साँठगाँठ
    नेपालमा राजसंस्था पुनस्र्थापना र हिन्दूत्व हुनुपर्छ भन्ने गैर राजनीतिक संस्थालाई भाजपाले सहयोग गरेको खुलेको छ । भारतीय संस्थापनमार्फत नेपालस्थित भारतीय दूतावासले सहजीकरण गरेका कारण विश्व हिन्दू महासंघले धार्मिक कार्यक्रम गरिरहेको छ ।

    यस्तै धार्मिक संघ संस्थालाई दूतावासले सहयोगमा तिव्रता दिएको छ । हिन्दूत्वका लागि काम गर्ने केही संस्थालाई अफिसियल रुपमा नै सहयोग गर्दै आउनुमा भारतीय संस्थापनको इच्छा देखिन्छ । ‘धार्मिक कार्यक्रम र राजनीतिक दलमा यसको बहस चले नेपाललाई आफूले भनेको विन्दुमा पु¥याउन सक्ने भाजपाको बुझाई छ’, स्रोतले भन्यो,‘भारतीय प्रधानमन्त्रीको सुझावका आधारमा नै नेपालमा यस्तो गतिविधिले तिव्रता पाएको हो ।’ यहाँसम्मकी भारतसँग चीनको नयाँ सम्बन्ध कायम भएको हुनाले हिन्दूत्वको घोषणामा चीनलाई पनि सहमतिमा ल्याउन सकिने उनीहरूले आश्वासन दिँदै आएका छन् । तर, नेपाली नेतालाई पश्चिमाको डर छ । जनप्रहारका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…