बिर्तामोड । संस्थाका अध्यक्षले मनोमानी लगानी गरेका कारण शिवसताक्षी नगरपालिकामा रहेको एक सहकारीका सयौ सदस्यको लगानी जोखिममा परेको छ । झापाको शिवसताक्षी ९ दुधेमा कार्यालय रहेको साना किसान कृषि सहकारी संस्थाका लगभग ८ सय सदस्यको लगानी जोखिममा परेको हो ।
कमजोर धितोमा ठुलो लगानी गरेका कारण सहकारी डुब्ने अवस्थामा पुगेको हो । धितो मुल्यांकन नगरी अध्यक्षले मनोमानी रुपमा लगानी गरेका कारण सहकारीका ८ सय सदस्यको लगभग ५० लाख रुपैंयाँ डुब्ने अवस्थामा छ । संस्थाका अध्यक्ष धनबहादुर थेबेले समेत सहकारीमा बचत भएको रकम अपचलन गरेको समेत सदस्यहरुले आरोप लगाएका छन् । लगानी नउठेका कारण साना किसान सहकारीको बिवाद अहिले दुधेमा उत्कर्षमा पुगेको छ । सदस्यहरु दैनिकजसो शेयर फिर्ता माग्न आउने गरेको भएपनि उनीहरुले पाउन नसकेको बताइएको छ ।
सहकारी संस्थाले प्रत्येक वर्ष साधारणसभा मार्फत् आय–व्याय सार्वजनिक गर्नु पर्ने नियम छ । विगत दुई वर्षदेखि सो संस्थाको साधारण सभा समेत हुन सकेको छैन । केही सेयर सदस्य भने आफ्नो सेयर माया मारेर अर्के सहकारीमा कारोबार गर्न थालेका छन् । सो सहकारी संस्थाका एकजना सदस्य गिता अधिकारीले अनुसार आफ्नो सेयर डुबेको थाहा पाएर सहकारी छोडेको बताईन् । उनले जम्मा गरेको सेयर रकमसमेत प्राप्त गर्न नसकेको गुनासो गरिन् ।
सहकारी संस्थालाई नियमन गर्न प्रत्येक पालिकामा सहकारी शाखा स्थापना गरिएको छ । शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख बद्री दाहालले त्यो सहकारीमा रकम हिनामिना भएको थाहा पाएको तर, अहिलेसम्म अनुगमन भने नगरेको बताउँछन् । उनले ब्लाष्टसँग भने, ‘अब चाँडै अनुगमन गर्ने प्रक्रिया मिलाउँछु ।’ नियमन गर्ने निकायले पनि खासै चासो नदेखाएका कारण जनताको लगानी डुब्ने अवस्थामा पुगेको सदस्यहरुको गुनासो छ ।
जिल्ला सहकारी संघले पनि २०७४ सालपछि अनुगमन र कारबाहीका लागि सिफारीस गर्ने अनुमति पाएको छ । तर, साना किसान सहकारी दुधेका सदस्यको लगानी डुब्दासमेत सम्बन्धित निकायमा पहल गर्न नसकेको संस्थाका सचिव युवराज ढकालले बताए । उनले भने, ‘सदस्यको लगानी कसको कमजोरीले डुबेको हो, उसलाई कारबाहीको प्रक्रियामा ल्याउन हाम्रो पहल रहन्छ ।’
सहकारीका अर्का सदस्य तुलसा योङ्याले शेयर र बचत रकम फिर्ता नदिएको बताइन् अहिले सहकारीले लगानी गर्न सकेको छैन भने सेयर सदस्यको रकमसमेत फिर्ता दिन आनाकानी गरिरहेको समेत उनले बताइन् ।
अध्यक्ष थेबेले सहकारीको रकम आफूले नभई कर्मचारीले हिनामिना गरेको आरोप लगाए । उनले सहकारीको डुबेको रकम उठाएर सदस्यलाई फिर्ता दिने दाबी गरे । यदि डुबेको रकम नउठे जेल हालेर पनि उठाएरै छाड्ने जिकिर थेबेले गरे । तत्कालिन प्रबन्धक बिबिसा न्यौपानेलाई निलम्बन गरेको बताउँदै थेबेले उनीबाट असुल गरिने जानकारी दिए । थेबे शिवसताक्षी नगरका नेकपाका सचिव हुन् । राजनीतिक पहुँचका कारण सेयर सदस्यले उनी समक्ष गुनासो गर्नसमेत नसकेको एक सदस्यले बताए । उनी भूमी व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
सहकारीमा ८ सय सदस्यको प्रतिसदस्य एक हजार सेयर ३ सय सेवा शुल्क र उनीहरुले बचत गरेको रकम अहिले जोखिममा छ । सदस्यहरुले सम्बन्धित निकायले पहल गरी आफ्नो रकम फिर्ता गरिदिन माग गरेका छन् । अहिले सो सहकारीले लगानी गर्न सकेको त छैन नै बचतकर्ता र शेयर सदस्यको रकम समेत फिर्ता दिन सकेको छैन ।