• रोशन कार्की, काठमाडौं, १५ भदौ । गोर्खा बु्रअरीद्वारा उत्पादित अधिकांश पेयपदार्थ गुणस्तरहीन रहेको भेटिएको छ ।

    सो कम्पनीले उत्पादन गरेको कार्ल्सबर्ग, टुबोर्ग, गोर्खालगायत बियरहरु गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले पुष्टि गरेको छ ।

    विभागले गरेको अनुगमनबाट गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग बियर गुणस्तरहीन भएको पुष्टि गरेको हो । विभागले गत महिना सो कम्पनीको नवलपरासीस्थित उद्योगमा अनुगमन गरी नमूना संकलन गरेर परीक्षण गरेपछि यस्तो तथ्य भेटिएको हो ।

    परीक्षणका क्रममा पाँच सय एमएलको टुबोर्ग स्ट्रोङ क्यान बियर गुणस्तरहीन भएको पाइएको विभागको रेकर्डमा उल्लेख छ । लामो समयदेखि सो कम्पनीले करछली गर्दै आएको र सो छली गरेको कर र जरिवानासहित कर कार्यालयले निर्धारण गरेको कर नबुझाउने भन्दै मुद्दामामिलामा गएको थियो ।

    विभागले शंका लागी परीक्षणका लागि लिएको क्यान बियरको एलसी पर्सेन्टको मान नेपाल गुणस्तर २३ अनुरुप नभएको पाइएको, अर्कातिर लेभलमा ५ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा रहेको लेखिएको टुबोर्ग बियरको बोतलको परीक्षण गर्दा ४ दशमलव ५ प्रतिशतभन्दा कम पाइएको विभागको टिप्पणीमा उल्लेख छ ।

    अल्कोहलको प्रतिशत कम भएकाले गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरण समेत सोधेको थियो । तर, गोर्खा ब्रुअरीले अल्कोहलको मात्रा पुगेको छ भनेर दाबी गरेपछि विभागले बजारबाट थप नमूना संकलन गरी परीक्षण गरेपछि सो तथ्य बाहिर आएको हो ।

    सो कम्पनी करछली काण्डमा समेत मुछिएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरका अनुसार, गोर्खाले ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ कर अझैसम्म बुझाएको छैन ।

    कार्यालयले कर बुझाउन आउन पटक–पटक ताकेता गरेपछि गोर्खा ब्रुअरीले करको दायित्वबाट भाग्दै उच्च अदालत पोखरामा मुद्दा दायर गर्न पुगेको थियो । पोखराका न्यायाधीशत्रय जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवले करछुटको फैसला गरेपछि फैसला विवादित बन्दै आएको कम्पनी हो ।

    यसैगरी गुणस्तरहीन बियर बिक्रीकै लागि सो कम्पनीले भारतका चर्चित अभिनेता सलमान खानलगायतको कलाकार टोलीलाई काठमाडौं ल्याएर कार्यक्रम गर्ने भनी ठगी धन्दा समेत चलाएको थियो ।

    सोही ठगीधन्दामा संलग्न भएको भन्दै ओडीसी इन्टरटेन्मेन्टका सञ्चालक सिमन्त गुरुङ र व्यवस्थापक रवीन केसीलाई पक्राउ गरी कारबाही गरेपछि सो कम्पनीको ठगी धन्दा बाहिर आएको हो ।

    ६ सय ५० एमएलको बियर भनी टुबोर्ग र गोर्खाका बोतलमा ६ सय एमएल मात्रै बियर राखी महंगोमा बेचेको आरोप समेत लागेको छ । गोर्खा ब्रुअरीले ५० एमएल कम राखी बिक्री गर्दै आएको आरोप लागेको छ ।

    लामो समयदेखि कर छली समेत गरिरहेको सो कम्पनीले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्यअभिवृद्धि कर (भ्याट) सहितको ९१ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको राजस्व विभागले जनाएको छ ।

    खेतान ग्रुपले सञ्चालन गरेको सो कम्पनीको अधिकांश सेयर अहिले सिंगापुरको कार्ल्सबर्ग कम्पनीले खरिद गरेको छ । खेतान समूहका राजेन्द्र खेतान इन्स्योरेन्स ठगीकाण्डमा अहिले पनि ‘फरार’ सूचीमा रहेका व्यापारी हुन् ।

    गोर्खा बु्रअरीमा विदेशीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सुरेन्द्र सिलवाल नामका व्यक्तिले सो कम्पनीको जिम्मेवारी लिएको स्रोतले जनाएको छ । बहुराष्ट्रिय कम्पनी कार्ल्सबर्गको ८० प्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीले सरकारलाई बुझाउनुपर्ने करोडौँ कर नतिरी उल्टै कर कार्यालयविरुद्ध मुद्दा हालेको थियो ।

    २०६४ सालमा बाबुराम भट्टराई अर्थमन्त्री छँदा ९१ करोडको कर छली काण्ड बाहिर आएको थियो । कार्ल्सबर्ग ग्रुपले उक्त कर आफूले नभई खेतान समूहले तिर्नुपर्ने भनेपछि खेतान समूहले गोर्खा ब्रुअरीको आफ्नो ५० प्रतिशत हिस्साबाट ३० प्रतिशत सेयर कार्ल्सबर्ग समूहलाई नै बिक्री गरेको थियो । त्यसपछि खेतान समूहले सम्हाल्दै आएको कम्पनीको व्यवस्थापन पनि काल्र्सबर्र्ग ग्रुप आफैँले सञ्चालन गर्न थालेको छ ।

    तत्कालीन समयमा चूडामणि शर्मा कर फछ्र्यौट आयोगको सदस्य सचिव रहेका बखत ८६ करोड रुपैयाँभन्दा बढी छुट लिन गोर्खा ब्रुअरी सफल भएको थियो । आयोगले गरेको गैरकानुनी करछुटविरुद्धका मुद्दा अदालतमा विचाराधीन अवस्थामा अझै रहेको छ ।

    उपभोक्तालाई कम परिमाणको गुणस्तरहीन बियर खुवाउँदै उपभोक्तबाट कर असुलेर सरकारलाई नबुझाएर ठगी गरिरहेको सो कम्पनीले आर्थिक वर्ष २०७१÷०७२ देखि नै बियरहरु बिक्री गरेबापत कर समेत सरकारलाई तिरेको छैन ।

    तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासबाट गत फागुन ३ गते बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीबाट कर असुल नगर्न अन्तरिम आदेश जारी गराएर कारवाहीबाट बचिरहेको थियो । सो कर रकमको केही हिस्सा बिचौलियालाई खर्च गरेको स्रोतको दाबी रहेको छ ।

    आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७१/०७२ मा भ्याट र अन्तःशुल्क निर्धारण गर्दा आफूलाई मर्का पर्ने गरी कर तोकेको र त्यसमाथिको निवेदन सुनुवाइ नगरी अर्को वर्षको कर तोक्दा आफूलाई अपूरणीय क्षति हुने भन्दै गोर्खा ब्रुअरी अदालत गएको थियो ।

    त्यसमा प्रधानन्यायाधीश पराजुलीको इजलासबाट कर निर्धारण गर्दा कम्पनीलाई ‘अपूरणीय क्षति’ पुग्नसक्ने देखिएकाले अर्को आदेश नभएसम्मका लागि राजस्व नउठाउन आदेश जारी भएको थियो ।

    यसमा उसलाई ठूला करदाता कार्यालयले कर तिर्न ताकेता गरिरहेको थियो । यसअघि कर फछ्र्योट आयोगबाट पाएको ८६ करोड १४ लाख रुपैयाँको छुट समेत सोकम्पनीले तिर्नुपर्ने विभागको भनाइ रहेको छ ।

    राजस्व अधिकारीहरूको कर निर्धारणमा चित्त नबुझे प्रशासकीय पुनरवलोकन हुँदै राजस्व न्यायाधिकरण र त्यहाँ पनि चित्त नबुझे अदालतमा अपिल गर्नुपर्नेमा उक्त सीमा नाघ्दै सो कम्पनी सिधै सर्वोच्च अदालत गएर राजस्व निर्धारणको प्रक्रिया रोक्ने र निर्धारण गरेको कर छुट गर्नभन्दै अदालतमा पुगेको थियो ।

    आन्तरिक राजस्व कार्यालय चितवनले गरेको मदिरा जन्य उद्योगको अनुगमनमा नवलपरासीको गोर्खा ब्रुअरी प्राईभेट लिमिटेडले अनुगमन टोलीलाई अनुगमन गर्ने मा समेत निषेध गरेको थियो  ।

    मदिरा जन्य उद्योगमा राजस्व कार्यालयले अनुगमन गर्ने पद्धति र उत्पादन प्रक्रियामा हुनुपर्ने सरसफाइ बारे गरिएको अनुगमनमा सो कम्पनीले सुरुमा अनुगमनमा अवरोध पु-याएको थियो ।

    आन्तरिक राजस्व कार्यालयले अनुगमनका लागि सो कम्पनीले उद्योगबाट निस्किएको केमिकल्स युक्त पदार्थ नारायणी नदीमा फालेको र त्यसले पर्यावरणमा असर पारेको भन्दै विवाद बढ्दै आएको छ ।

    आन्तरिक राजस्वमा बियरको प्रतिलिटर ९८ रुपैयाँको दरले राजस्व लाग्ने र कार्टुनको तलमाथि राजस्वको स्टिकर लाग्ने गरेको पाइयो भने डिष्टिलरीहरुमा प्रत्येक बोतलमा आन्तरिक राजस्वको स्टिकर टाँस्नुपर्ने प्रावधान राखिएको छ ।

    डिस्टिलरीको लागि प्रति ९ लिटरको २ सय १६ का दरले राजस्व जम्मा गरेपछि मात्र राजस्वको कर्मचारीको अनुगमनमा निकासी गर्ने प्रक्रिया रहेको जानकारी दिइएको थियो । तर सो कम्पनीले सरकारी निर्देशनको अवज्ञा गर्दै आएको समेत ठहर विभागले गरेको छ । (आर्थिक दैनिकबाट)

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…