•  

     

    काठमाडौं। अहिले लगभग पूरै विश्व बन्द छ । कोरोनाभाइरसबाट जीवन जोगाउने प्रयासमा अधिकांश नियमित कामहरु ठप्प छन् । तर, जहाँबाट यो भाइरसको संक्रमण सुरु भएको मानिएको छ त्यो देश भने सामान्य अवस्थामा फर्किइसकेको छ । पूरै विश्वको बजार बन्द भएका बेला चीनले भने कोरोनाभाइरसलाई पराजित गर्दै आफ्ना बजार खोलेको छ । चीनले पछिल्लो एक महिनामा मात्रै आफ्नो अर्थतन्त्रमा यति ठूलो प्रगति गरिसकेको छ कि अब विश्लेषकहरुले अमेरिकाबाट विश्व महाशक्तिको ताज खोसिएको विश्लेषण गर्न थालेका छन् ।

    चीनले कोरोनाभाइरसलाई पराजित गर्दै सामान्य अवस्थामा फर्किसकेको छ । यतिमात्र होइन अहिले पूरै विश्वमा कोरोनाभाइरसबाट बच्न प्रयोग हुने सामग्रीहरु चीनले ठूलो परिमाणमा निर्यात गरिरहेको छ । जहाँबाट ‘कोरोनाभाइरस’ र ‘लकडाउन’ भन्ने शब्द पूरै विश्वले सुन्यो अहिले त्यही ठाउँ अहिले सामान्य भइसकेको छ । चीनको हुबेइ प्रान्त फेरि खुलिसकेको छ । उसका बजार सिधै विश्व बजारका लागि खुलेका छन् । यहाँका फ्याक्ट्रीहरुमा २४ घण्टा काम भइरहेको छ ।

    चीनको निर्यात विभागको तथ्यांकअनुसार पछिल्लो समय चीनले ५० भन्दा धेरै देशमा ३ अर्ब ८६ करोड थान मास्क निर्यात गरेको छ । ३ अर्ब ७० करोड रक्षात्मक पोसाक, १६ हजार भेन्टिलेटर र २८ लाख ४० हजार थान कोरोनाभाइरस टेस्टिङ किट चीनबाट निर्यात भइसकेका छन् । चीनले यी सबै निर्यात १ मार्चदेखि १ अप्रिलको बीचमा एक महिनाको अवधिमा गरेको छ । चीन कसरी यति छिटो यस्तो अवस्थामा पुग्यो ? विश्लेषकहरु यसका ३ सम्भावनाहरु देख्छन् ।

    पहिलो सम्भावना हो चीनले आफ्ना गल्तीहरुबाट अत्यन्तै छिटो र छोटो समयमा पाठ सिक्यो । उसले आफ्ना गल्तीबाट सिक्दै ती गल्ती फेरि गरेन र अत्यन्तै सावधानीका साथ कोरोनाभाइरसमाथि विजय पायो । दोस्रो सम्भावना हो, सम्भवतः चीनलाई धेरै पहिलेदेखि नै यस्तो कुनै महामारी आउनसक्ने आशंका थियो । उसले भविष्यमा यस्तो हुन सक्ने खतरालाई पहिले नै अनुमान गरिसकेको थियो र उसले यसको लागि पहिलेदेखि नै तयारी गरिसकेको थियो ।

    तेस्रो सम्भावना अमेरिका र युरोपेली देशहरुले लगाइरहेको आरोप हो । उनीहरुले कोरोनाभाइरस चीनको कुनै रणनीति हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरुले चीनले विश्वमाथि कब्जा जमाउन कुनै जैविक हतियारको रुपमा आफैं कोरोनाभाइरस फैलाएको हुन सक्ने समेत आशंका गरेका छन् । यद्यपि यी तीनवटै सम्भावना केवल अनुमान मात्र हुन्, कुनै पनि पुष्टि भएका छैनन् ।

    अहिले चीन विश्व महाशक्ति बन्ने बाटोमा छ । अझै केही समय स्थिति यस्तै रहेमा चीनलाई विश्व महाशक्ति बन्नबाट कसैले रोक्न सक्ने छैन । अहिलेसम्म विश्वको शक्ति केन्द्र अमेरिकालाई मानिँदै आइएको छ तर अब अमेरिका विश्व शक्ति केन्द्रको स्थामा टिकिरहन कठिन छ । केही समयमै उसको ‘महाशक्ति’को ताज चीनले खोस्न सक्छ ।

    अहिले चीनले स्वास्थ्य सेवाका लागि भन्दै पूरै विश्वभरी ‘सिल्क रोड’को जाल बिच्छ्याइरहेको छ । चीनको यो सिल्क रोड विश्वका अधिकांश प्रभावशाली देशहरुसँग जोडिँदैछ । यसअघि चीनले ‘वन बेल्ट वन रोड’ कार्यक्रम सुरु गरेको थियो तर विश्वका प्रभावशाली देशहरुले चीनको यो कार्यक्रमलाई पूरा हुन दिएका थिएनन् । तर, अहिले ती प्रभावशाली देशहरुलाई कोरोनाभाइरसले यतिसम्म थिलथिलो बनायसकेको छ कि उनीहरु चीनको विरोध गर्ने क्षमता राख्दैनन् ।

    उनीहरुले यसकारण पनि चीनको विरोध गर्न सक्दैनन् किनकि चीनले आफ्नो कार्यक्रम अगाडि बढाउँदै गर्दा साथमा त्यही बाटोबाट कोरोनाभाइरससँग जुध्ने सामग्री पूरै विश्वलाई दिइरहेको छ । अधिकांश प्रभावशाली देश कोरोनाभाइरसका कारण दयनीय अवस्थामा छन्, उनीहरुलाई चीनका ती सामग्री अहिले अत्यन्तै आवश्यक छ । फलतः उनीहरुसँग चीनको जारी काम अगाडि बढ्न दिनुको विकल्प छैन । चीनले पूरै विश्वमा आफ्नो सिल्क रोडको खाका खिचिसकेको छ र अब यसलाई स्थापित बनाउन मात्र बाँकी छ ।

    चीन लगभग सामान्य अवस्थामा फर्किसकेको छ । चीनका ९० प्रतिशत कम्पनीमा सामान्य रुपमा उत्पादन सुरु भइसकेको छ । चीनका ८५ प्रतिशत व्यवसायिक केन्द्रहरु खुलिसकेका छन् । पूरै विश्वमा एन–९५ मास्कको अत्यन्तै माग छ र चीनका ९ हजार कम्पनीहरुले अहिले यो मास्क उत्पादन गरिरहेका छन् । अहिले चीन ठिक त्यही अवस्थामा छ जुन अवस्थाको लाभ उठाएर दोस्रो विश्वयुद्धको समयमा अमेरिका विश्व महाशक्ति बनेको थियो ।

    दोस्रो विश्वयुद्धका बेला विश्वका अधिकांश देशहरु युद्धमा होमिएका बेला अमेरिका युद्धमा थिएन । विश्वयुद्धका सुरुवाती दिनमा उसले युद्धमा होसिएका दुवै देशलाई हतियार र अन्य सैन्य सामग्री बेच्दै गयो । युद्धरत दुवै पक्ष क्रमशः कमजोर हुँदै गएका थिए, एकले अर्कोलाई नोक्सान पुर्याइरहेका थिए । अर्कोतर्फ अमेरिका भने दुवै पक्षलाई हतियार बेच्दै आफ्नो अर्थतन्त्र बलियो बनाउँदै थियो । यो विश्वयुद्धमा पूरै विश्वले हार्यो तर अमेरिकाले जितेको थियो ।

    विश्वयुद्धले न केवल अमेरिकाको अर्थतन्त्र उकासियो, ऊ विश्व महाशक्तिको रुपमा अगाडि आयो । तर, अहिले समयले कोल्टे फेरेको छ । कोल्टे पनि यसरी फेरेको छ कि अहिले विश्व महाशक्ति बन्ने अवसर चीनसँग छ । यो अवसरको दुपयोग गर्दै चीनले पनि ठिक त्यही गरिरहेको छ जो दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले गरेको थियो । कोरोनाभाइरसमाथि जीतसँगै अहिले चीन आफ्नो अर्थतन्त्र उकास्नेतर्फ केन्द्रित भएको छ । तर, अझै पनि एउटा कुरा प्रस्ट हुन सकिरहेको छैन । चीनलाई विश्व महाशक्ति बन्ने अवसर प्रकृतिले जुराइदिएको हो ? वा चीनले आफैं ‘माग’ सृजना गरेर, आफैं ‘आपूर्ति’ गरेर मुनाफा कमाउँदै विश्व महाशक्ति बन्ने रणनीतिमा काम गरिरहेको छ ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…