• काठमाडौं । गायन करियरको पूर्वाद्र्धमै हिट भएका थिए डम्बर नेपाली, स्लो भर्सनको प्रेम–गीतबाट । मेरो जीवनवाट जाने भए जाऊँ, आज आकाशमा एउटा तारा देखिन जस्ता गीतका गायक नेपाली पछिल्लो समय भने फास्ट ट्रयाकमा मोडिए ।
    नेपाली उखानलाई ठेट शैलीमा ढालेर तयार गरिएको गीत ‘कि यो जंगे रेलमा’, ‘बिग्रिएको मान्छेको, भत्केको घर’ले उनलाई फरक चिनारी दियो ।

    डम्बरलाई चिनाउन यति नै पर्याप्त छ । गीत रचनादेखि संगीत भर्नसम्म पोख्त डम्बरको समग्र जीवन संगीतकर्ममै टिकेको छ । उनी त्यस्ता आंशिक नेपाली गायकमा पर्छन, जसलाई गाएकै भरमा खान–लाउन पुगेको छ ।
    कुनै बेला उनी पेवा कुखुरा बेचेको ३ सय रुपैयाँ बोकेर गायक बन्न काठमाडौं हान्निएका थिए । त्यसताका रेडियो नेपालमा स्वर परीक्षण गराएपछि ‘गायकको ट्याग’ भिर्न पाइन्थ्यो । उनी स्वर परीक्षणका लागि रेडियो नेपाल पुगे तर त्यसका निम्ति आवश्यक प्रक्रिया पूरा गरेका थिएनन् । आखिर उनको रहर त्यत्तिकै तुहियो ।

    ‘दौतरीहरू कमाइ गर्न विदेश जान्थे र मलाई पनि उक्साउँथे’ डम्बर सम्झन्छन–‘तर, मैले संगीत साधनामै निरन्तर लाग्ने निधो गरें ।’ त्यो समय पप, र्याप संगीतको बजार उत्कर्षमा थियो । त्यही बेला डम्बरले नयाँ स्वाद पस्किए–‘अन्तिम पल्ट भेट्न आऊ’ बाट । स्लो भर्सनको उक्त गीतले डम्बरलाई चर्चा त दिलायो नै, खल्ती पनि भरिदियो । यही गीतले उनलाई विदेशको सयर गरायो अनि ‘छिन्नलता’ पुरस्कार दिलायो ।

    उक्त गीत गाउनुअघि डम्बर ‘द रेज’ ब्यान्डसँग आबद्ध थिए । त्यही ब्यान्डका सदस्यहरूसँग मिलेर ‘शून्य आकाशमा’ एल्बम बजारमा ल्याए । गीत पनि राम्रै चल्यो । ‘पछि साथीभाइ लाखापाखा लागे’ डम्बरले सुनाए– ‘त्यसपछि ब्यान्ड पनि फुट्यो ।’ ब्यान्डसँगको सहयात्रा टुटेपछि उनी एक्लै संगीतमा होमिए । २०६३ सालमा उनको सोलो एल्बम बजारमा आयो । त्यही एल्बमले उनलाई गायकका रूपमा स्थापित गर्यो ।

    प्रेम वियोगको गीतमा मात्र होइन, रोमान्टिक गीतमा पनि उनी अब्बल ठहरिए । उनले गाएको ‘जंगे’ गीत निकै रुचाइयो । त्यससँगै ‘तिम्रो पाउजु बजेर थाहा पाए अरूले, बिग्रिएको मान्छे म, जस्ता गीतले डम्बरलाई फरक धारमा स्थापित गरायो ।
    दुई दशकको गायन करियर डम्बरलाई राम्रै फलिफाप भयो । देश–विदेश घुमे, पुरस्कार थापे, पैसा कमाए । त्योभन्दा पनि महत्वपूर्ण, गीत गाएको पैसाले आमाको उपचार गरे । ‘मेरो गायनको सबैभन्दा सन्तोषजनक उपलब्धि भनेको यही हो’ यसो भनिरहँदा डम्बरको छाती गर्वले चौडा हुन्छ । कहिले देश–विदेशको कन्सर्ट त कहिले गीत रेकर्डिङले बेफुर्सदिला बनाउँछ, डम्बरलाई । संगीत साधनबाट बचेको समय खेलकुदमा लगाउँछन् । उनी फुटबल खेलका पारखी मात्र होइनन्, राम्रा खेलाडीसमेत हुन् ।

    डम्बर फुर्सद पाउनसाथ फुटबल खेल्न तम्सिहाल्छन् । ‘यसले मेरो फुटबलको तलतल त मेटिन्छ नै’ डम्बर भन्छन– ‘शारीरिक रूपमा तन्दुरुस्त राख्न पनि सहयोग गर्छ ।’ बिहान उठेपछि नियमित रूपमा फुटसल धाउने उनको बानी छ । त्यहाँ उनीसँगै बद्री पंगेनी, शंकर विसी आदि कलाकार पनि सामेल हुन्छन् । मुड चलेका बेला साथीभाइलाई कोठामा बोलाउँछन्, आफ्नै हातले पकाएको परिकार चखाउँछन् । यस्तो जमघटमा रक्सी पिउन मन लाग्छ, तर रक्सीमा त्यस्तो आशक्ति भने छैन ।

    आहिले डम्बरले काठमाडौंको कोटेश्वरमा डेरा जमाएका छन् । त्यहींबाट उनको नियमित दैनिकी प्रारम्भ हुन्छ । उठ्ने र सुत्ने तालिका नियमित छ । उनी बिहान साढे चार वा पाँच बजे उठिसकेका हुन्छन् । उठ्नासाथ मर्निङवाकमा निस्कन्छन् । त्यसपछिको समय संगीत साधनालाई छुट्याएका छन् । केही समय गिटार समाएर गीत गाउने अभ्यास गर्छन् । ‘कहिले गीत कम्पोज गर्छु, कहिले लेख्छु’ डम्बर भन्छन– ‘त्यसरी नै मेरो बिहानको समय बित्छ ।’ मध्यान्ह उनको गन्तव्य हुन्छ– रेकर्डिङ स्टुडियो ।घरबाहिर निस्कँदा उनलाई अलि टिपटप हुनुपर्छ । पहिरनका सौखिन डम्बरलाई क्याजुअल पहिरनमा देख्न सकिन्छ ।
    पछिल्लो समय उनी चलचित्रको संगीत तथा गीत लेखनमा केन्द्रित छन् । दिनभर रेकर्डिङ, कम्पोज र भेटघाटले व्यस्त बनाउँछ । साँझ डेरामा फर्किएपछि केहीबेर इन्टरनेटमा समय व्यतीत गर्छन् । नयाँ गीतहरू सुन्छन्, चलचित्र हेर्छन् । लेख्न बाँकी, कम्पोज गर्न बाँकी रहेका कामहरू पूरा गर्दागर्दै निदाउने बेला भैसक्छ ।

सम्वन्धित समाचार

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…

नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् …