• गाईघाट, १३ वैशाख (रासस) :
    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना सङ्क्रमणविरुद्ध लड्न प्रदेश सरकारले व्यापक तयारी गरिरहेको बताउनुभएको छ ।

    कोरोना सङ्क्रमणबारे अध्ययन तथा अनुगमन गर्न भोजपुरहुँदै हेलिकप्टरबाट आज दिउँसो उदयपुरको त्रियुगा नगरपालिका–३ भुुल्के आइपुग्नुभएका उहाँले भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी परिसर छेउको भुल्के चौरमा स्थानीय प्रशासन जनप्रतिनिधिलाई सम्बोधन गर्दै कोरोनाविरुद्ध प्रदेश सरकारले सङ्क्रमण फैलिन अगाडिदेखि नै तयारी गरेको र फैलिसकेपछि झनै तीव्र युद्धस्तरमा काम गरिरहेको कुरा बताउनुभयो ।

    मुख्यमन्त्री राईले भन्नुभयो, “अहिले प्रदेश सरकारले कोरोनाविरुद्ध तीव्र तयारीमा काम गरिरहेका कारण प्रदेशवासी जनता उतार्नुपर्ने अवस्था छैन, खाद्यान्न, औषधि उपचारसहित गरिब मजदूरका लागि पनि राहत व्यवस्थापन कार्य तीव्ररुपमा वितरण भइरहेको छ ।”

    उहाँका अनुसार अहिले कोरोनाका बिरामीको उपचार विराटनगरस्थित कोरोना अस्पतालमा व्यवस्था मिलाइएको र उनीहरुको रेखदेख सबै जिम्मा प्रदेश सरकारले लिएको तथा कोरोनासम्बन्धी जाँचका लागि पनि अब चाँडै जिल्लाजिल्लामा व्यवस्था गर्न लागिएको छ । अब विराटनगरबाहेक कोरोनाको उपचार केन्द्र सुनसरीको धरान र उदयपुरमा पनि व्यवस्थापन गर्न लागिएका कारण कोरोनाको उपचारमा प्रदेशमा कुनै समस्या नहुने धारणासमेत मन्त्री राईले राख्नुभयो ।

     

    मुख्यमन्त्रीसँगैं प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की पनि आउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दीपक पहाडी र त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी समेतले जिल्ला र नगरको कोरोनासम्बन्धी विषयमा मुख्यमन्त्री राईलाई जानकारी गराउनभएको थियो ।

    उक्त कार्यक्रममा उदयपुरबाट प्रदेशसभा सदस्य विमल कार्की, अम्बिका थापा, हिमाल कार्कीसहित पूर्वशहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीसमेतको उपस्थिति थियो । यस्तै नेपाली सेना १८ नं बाहिनीका बाहिनी प्रमुख कृष्णप्रसाद सापकोटालगायत उदयपुरका सुरक्षा निकायका प्रमुखको पनि उपस्थिति रहेको थियो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…