काठमाडौँ — संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथिको दफाबार छलफल सकेको छ । संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल सकिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले जानकारी दिए ।
दुई दिन लगाएर विधेयक माथि संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गरिएको हो ।
सामुहिक र छुट्टाछुट्टै गरी २२ वटा संशोधन दर्ता भएको थियो । आइतबार प्रस्तावना र दफा १६ सम्म छलफल भएको थियो । सोमबार सबै दफाको छलफल सकिएको सिंहले बताए । ‘केहि सरोकारवाला सँग छलफल गर्न बाँकी छ, छलफलमा डाकेर प्रतिवेदन बनाउँछौं,’ उनले भने ।
उपसमितिले प्रतिवेदन बुझाएपछि समितिले विधेयक संसदमा दर्ता गर्नेछ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने गरी काम सक्ने समितिले जनाएको छ ।
प्रतिनिधि सभाको नियमावली २०७५ को नियम १८२ अनुसार समिति अन्र्तगत चिकित्सा शिक्षा विधेयक माथि दफावार छलफल गरि समितिमा प्रतिवेदन पेश गर्न उपसमिति गठन भएको हो । दफावार छलफलका क्रममा बोल्ने सांसदहरुले सरकारका डा. गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । कान्तिपुर बाट