धनगढी – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भइसक्दा पनि थारु समुदायका माग पूरा गर्न तदारुकता नदेखाएको भन्दै पश्चिमका थारु युवा जुर्मुराएका छन् ।
आफ्ना माग पूरा गर्न सरकारलाई बाध्य पार्र्ने उद्देश्यले थारु समुदायले नयाँ रणनीति बनाउने तयारी गरेका छन् । निर्णायक आन्दोलन गर्ने उद्देश्यले अबको रणनीति भयंकर हुने थारु समुदायका अगुवाको दाबी छ ।
थरुहट प्रदेशको मागसहित नयाँ रणनीति बनाउन थरुहट थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस) ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको हो ।
२०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसकेको सो आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताए । फागुन २२ गते जिल्ला अदालत कैलालीको फैसला आएपछि जेल सजाय भुक्तान गरेका थारु नेता, अगुवासहितको उपस्थितिमा राष्ट्रिय भेला हुने उनले बताए ।
भेला तीनवटा उद्देश्यमा केन्द्रित हुने जनाइएको छ । टीकापुर मुद्दा र अदालतको फैसला, थरुहट आन्दोलनको अवस्था, मोर्चाबन्दी, नेतृत्व एवं भावी संघर्षका कार्यक्रमहरू र कारागार अनुभव सेयरिङसहित निष्कर्षमा पुगिने थारु नेता लक्ष्मण थारुले बताए ।
उनले केही दिनभित्रै टीकापुर घटनासम्बन्धी मुद्दा पुनरावेदन गर्ने बताए । जिल्ला अदालत कैलालीको फैसलाको सम्मान गर्दै न्याय प्राप्तिको लागि उच्च अदालत जाने बताए । ‘हामी जिल्ला अदालतको फैसलालाई सम्मान गर्दै न्याय नपाएसम्म अगाडि बढिरहने छौं । हामी निर्दोष छौ । निर्दोष सावित नभएसम्म कानूनी लडाई जारी राख्ने छौं,’ नेता थारुले भने ।
राजनीतिक अधिकार प्राप्तिको माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी तथा सरकार र संघर्ष समितिबीच २०६५ सालमा भएको समझौता कार्यान्वयनका लागि दबाब सिर्जना गरी राख्ने उनको भनाइ थियो ।