• काठमाडौं, १८ असार ।जुनसुकै कारणले भए पनि प्रचण्ड ‘लाइनमा आएपछि’ प्रधानमन्त्री केपी शर्मा ओली पनि केही उदार बन्न खोजेको सङ्केतहरू देखिएका छन् ।

    पार्टीमा जनताको बहुदलीय जनवादलाई नै मुख्य मार्गदर्शक सिद्धान्त बनाइनुपर्छ भन्ने धारलाई निराश तुल्याउँदै केपी ओली ‘जनताको जनवाद’मा सहमति जनाउन पुगेका छन् ।

    यसबीचमा प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूसँग व्यापक छलफल तथा परामर्श शुरु गरेका छन् र, अब सरकारले आफ्नो कार्यशैली बदल्ने विश्वास केपीले सहकर्मीहरूलाई दिलाएका छन् ।

    सन्दर्भमा केपी ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा पनि सैद्धान्तिक सहमति भएको बुझिएको छ ।

    दुई नेताबीच एकस्तरको सहमपत बनेलगत्तै मन्त्रिमण्डलको पुनर्गठन कसरी होला भन्ने विषयलाई लिएर सत्तारुढ दलभित्र उच्च जिज्ञाशा उत्पन्न भएको छ ।

    वर्तमान सरकार अलोकप्रिय हुनुमा अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली, क्षमता र व्यवहार मुख्य कारण मानिन्छ ।

    प्रधानमन्त्री ओलीको सबैभन्दा निकट मानिएका खतिवडालाई मन्त्रिमण्डलबाट हटाउन ओली स्वयम् तयार हुन सक्लान् या नसक्लान् भन्ने विषयमा अहिले मुख्य चासो उत्पन्न भएको छ ।

    एक सूत्रले जनाएअनुसार केपी शर्मा ओली पछिल्लो समयमा खतिवडाको कामबाट अत्यन्त असन्तुष्ट बनेका छन् । त्यसैले केही दिनभित्रै हुने मन्त्रिमण्डल पुनर्गठनमा खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिने सम्भावना बढेको छ ।

    अर्थ मन्त्रालयका निम्ति अधिकाङ्श नेता–कार्यकर्ताले सुरेन्द्र पाण्डेलाई रुचाएको भए पनि उक्त पद पाउन ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु पौडेलसमेत इच्छुक देखिएका छन् ।

    त्यस्तै, मन्त्रिमण्डलमा विना मगर, मातृका यादव, चक्रपाणि खनाल, रामबहादुर थापा बादल र लालबाबु पण्डितको पनि कार्यक्षमता कमजोर भएको ठानिन्छ र, कुनै न कुनै कुनाबाट उनीहरूलाई विस्थापित गरिनुपर्छ भन्ने आवाज उठिरहेको छ । जब कि प्रचण्ड विना मगरलाई मन्त्रिमण्डलबाट कुनै हालतमा पनि हटाउन नहुने धारणा राख्छन् ।

    गृहमन्त्री रामबहादुर थापालाई हटाउने पक्षमा प्रचण्ड भए पनि प्रधानमन्त्री स्वयम् थापालाई यथावत् राख्न इच्छुक रहेको बताइन्छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भूमिका सन्देहास्पद र कमजोर रहेकोले उनलाई परराष्ट्रको सट्टा अन्य कुनै मन्त्रालयको जिम्मेवारी मिल्न सक्ने सम्भावना रहेको छ ।

    रिक्त नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा योगेश भट्टराईको नाम लिन थालिएको छ । तर, उनी स्वयमले भने सञ्चार मन्त्रालय ताकेको बताइन्छ ।

    भौतिक योजनामन्त्री रघुवीर महासेठमाथि विकासको कामभन्दा नगद सङ्कलनमा ज्यादा केन्द्रित रहने गरेको आरोप छ । महासेठलाई मन्त्रिमण्डलबाट हटाउन प्रधानमन्त्रीमाथि दबाब परिरहेको भए पनि उनको मन्त्रालय परिवर्तनसम्मको मात्र सम्भावना देखिएको छ ।

    मन्त्रिमण्डलबाट बिदा पाउने बढी सम्भावना रहेकाहरूमा मातृका यादव, चक्रपाणि खनाल, पद्मा अर्याल, युवराज खतिवडा र लालबाबु पण्डित अग्रपङ्क्तिमा छन्, घटना र विचारमा उल्लेख छ ।

    तर, खतिवडालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुपर्छ भन्ने पनि केहीको भनाइ रहेको छ भने उनलाई सरकारबाट हटाएर अमेरिकाका लागि राजदूत बनाइनुपर्छ भन्नेहरू पनि भेटिएका छन् ।

    त्यस्तै, माधवकुमार नेपालको सम्मति लिएर मात्र लालबाबु पण्डितबारे निर्णय लिइने पनि बताइएको छ । केही अघिसम्म मन्त्रिमण्डल पुनर्गठनबारे द्विविधामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा विकसित पछिल्लो घटनाक्रमपश्चात् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…