• चितवन : आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्, १८ जनालाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ । रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ । प्रहरीले साउन ३२ गते चार जनालाई समाएको थियो । भदौ २ गते १० जना पक्राउ परे । मंगलबार रविसहित तीनजनालाई अनुसन्धानका लागि म्याद थप गर्नअदालत लैजाने दिन थियो । त्यो दिन प्रदर्शनमा उत्रिएका ८ जना समातिए ।

    ‘समातिएकामध्ये चार जना धरौटीमा छुटेका छन्, १८ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर हिरासतमै राखिएको छ’, डीएसपी कोइरालाले भने ।

    समर्थकको प्रदर्शनमा बुधबारबाट संख्या पातलो हुँदै गएको छ । प्रदर्शनमा उत्रेकाले अराजक नारा लगाउने गरेको भन्दै नेकपा चितवनले त्यस्ता कार्यक्रममा सहभागी नहुन सोमबार प्रेस विज्ञप्ति जारी गरेर कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएको थियो । सोही दिन कांग्रेसले पनि अलग्गै विज्ञप्ति निकालेर शान्तिपूर्ण रूपमा सभासम्मेलन र जुलुसमार्फत जायज मागको ‘परीक्षण’ गर्न पाउने संवैधानिक अधिकार प्रत्याभूत हुनुपर्ने बताएको थियो ।

    यसअघि आइतबार साँझ चितवन जिल्ला प्रशासनमा सर्वदलीय बैठक बसेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सुरक्षा अधिकारी, नेकपा, कांग्रेस, समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र राप्रपाका नेता–प्रतिनिधि सहभागी बैठकले तीन बुँदे निर्णय गरेको थियो । पक्राउ परेका व्यक्तिहरूको पक्ष/विपक्षमा नभई शान्ति कायम गर्न दलहरूले सर्वसाधारणलाई अपिल गरेका थिए । दलहरूले अराजक प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेका थिए ।

    रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार काठमाडौंमा पक्राउ गरेर चितवन प्रहरीले भरतपुर ल्याएको थियो । काठमाडौंको माउन्टेन टीभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी साउन २० गते राति नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा पुडासैनीले रविसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…