पुष्कर खड्का / रामेछाप - नेपाल कम्युनिष्ट पार्टी रामेछापले जिल्लाको ६४ वटै वडा कमिटीलाई पूर्णता दिने काम अगाडि बढाएको छ । जिल्ला कमिटीले आठ वटै स्थानीय तहको कमिटीको अध्यक्ष, सचिव र पदाधिकारी टुंगो लगाउनुको साथै जिल्ला कार्यालयलाई समेत पूर्णता दिएको छ ।
पार्टी एकीकरण भएको वीस महिनापछि नेकपाले पुरानै नेतृत्वलाई निरन्तरता दिने गरी एकता प्रक्रियाको काम अगाडि बढाएको छ ।पार्टीको सांगठानिक कामलाई पूर्णता दिनको लागि नेकपा रामेछापको आज जिल्ला कमिटीको बैठक सुरु भएको छ ।
तीन नम्बर प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, जिल्ला इन्चार्ज र सह इन्चार्ज सहितको बैठकले एकताको बाँकी काम पूरा गर्न निर्णय लिने नेकपा रामेछापका सचिव शान्ति पौडेलले लिखु अनलाइनलाई जानकारी दिनुभयो ।यस अघि बसेको बैठकले आठ वटै स्थानीय तहको पदाधिकारी चयन गरेपनि गाउँ कमिटीमा रहने सदस्य र सचिवालयको टुंगो लगाउन सकेको छैन भने वडा कमिटीको नेतृत्व चयनको बारेमा निर्णय लिन सकेको छैन् ।
सचिव पौडेलले भन्नुभयो,‘आगामी पुस दस गतेभित्र जिल्लाको सबै सांगठनाकि काम सम्पन्न गरी काम गछौं ।’ १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा अझै दुई जना थप्न बाँकी रहेको छ । जिल्ला कमिटीको बैठकले ४५ सदस्यीय सचिवालय टुंगो लगाउने सचिव पौडेलले बताउनुभयो ।