•  


    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन पुर्ख्यौली घर तेह्रथुमको आठराईमा मनाउने भएका छन्।

    जन्मदिन मनाउन आइतवार उनी पाँचथर हुँदै तेह्रथुमको आठराई जाने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले बीबीसीलाई बताए।

    "पाँचथरमा खानेपानी आयोजनाको उद्घाटन गरेर त्यसपछि हेलिकोप्टरबाट उहाँ जन्मघर आउने कार्यक्रम छ," भण्डारीले भने।

    प्रधानमन्त्रीसँगै उनको जन्मघर पत्नी र बुवा एवम् अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बीना मगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई त्यता जाँदै गरेको आयोजकहरूले बताएका छन्।

    तयारी कहिलेबाट?
    प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दौवाका अनुसार जन्मदिनका लागि ३/४ महिना अघिदेखि नै तयारी शुरू भएको थियो।

    "हामीले ३/४ महिना अघिदेखि नै उहाँको जन्मदिन मनाउने योजना अनुसार हेलिप्याड बनाउने र गाडी पार्किङका लागि ठाउँ सम्याउने काम थालेका थियौँ," कन्दौवाले बीबीसीलाई भने।

    ओलीको घरमा केक काट्ने कार्यक्रम समेत रहेको बताइएको छ।

    कार्यक्रम के के छन्?
    प्रधानमन्त्री ओलीले २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिने कार्यक्रम रहेको पनि कन्दौवाले बताए।

    "कार्यक्रममा सुरक्षा व्यवस्थाका लागि प्रहरी र सेना गरी २०० सुरक्षाकर्मी खटेका छन्। त्यसबाहेक २०० स्वयंसेवी भाइबहिनी पनि छन्," कन्दौवाले भने।

    अघिल्लो साता एन्जियोग्राफी गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको पनि उनले बताए।

    ओलीले तेह्रथुमको सुकेपोखरी-ढुंगेसाँघु सडकको शिलान्यास गर्ने र नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन गर्ने बताइएको छ।

    "उहाँले शिलान्यास र बैंक उद्घाटन सकेपछि घरमा आफ्ना बाल्यकालका साथीसहित बसेर केक काट्नुहुन्छ," कन्दौवाले भने, "साथीभाइसँग एकछिन भेटघाट र कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ।"

    जन्मदिनमा करिब तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने गरी तयारी भएको पनि कन्दौवाले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…