• जनकपुरधाम। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ। यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये पर्साको चार जना छन्। सो समेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अब १०३ पुगेको हो।

    थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन्। धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको सङ्क्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले बिहीबार पुष्टि गरेको थियो। जनकपुरको रमानन्दचोकमा घर भए पनि तत्काल उनी काठमाडौँमा छिन्। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।

    यस प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना सङ्कलनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ। दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट ट्रेसिङ’ गरिएका मध्येबाट ३५० जनाको स्वाब सङ्कलन शुक्रबार भइसकेको र ३६० जनाको स्वाब सङ्कलनकार्य जारी छ।

    यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको १०० भन्दा बढीको स्वाब सङ्कलन गरिएको छ। रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब सङ्कलन भइरहेको प्रदेश सचिव डा घिमिरेले बताए। सप्तरी, सिरहा र सर्लाही जिल्लाका जोखिमपूर्ण व्यक्तिको पहिचान गरी स्वाब सङ्कलन तयारी गरिएको छ।

    यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित ९६ जनाको उपचार भइरहेको छ। सोमध्ये बीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कूलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र छ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक सङ्क्रमितको उपचार भइरहेको छ।

    यस प्रदेशमा अहिलेसम्ममा चार हजार ९ सय ८० को स्वाब सङ्कलन गरिएकामा तीन हजार ८ सय १७ को नतिजा नेगेटिभ आएको छ र एक हजार ६४ जनाको रिपोर्ट आउन बाँकी छ। यस प्रदेशमा अहिलेसम्म पाँच हजार ५१७ को आरडिटी परीक्षण गरिएको छ।

    प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा एक हजार ९ सय १५ जना छन् भने होम क्वारेन्टाइनमा चार हजार ६८८ र आइसोलेसनमा १०८ जना बसेका छन्। यसका साथै आइसोलेसनकक्षका लागि प्रदेश सरकारले पहिचान गरेका अस्पताललाई पूर्ण तयारीमा रहन आग्रह गर्दै सचिव डा घिमिरेले बिरामी आएपछि तयारी गर्ने सोचाइ नराख्नतर्फ ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…