• काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि पर्न थालेको छ । कोरोना संक्रमितको संख्या २ दिनयता ह्वात्तै बढेको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि आइसोलेसन वार्डको दायरा बढाउनुपर्ने देखिएको छ । तर त्यही आइसोलेसन वार्ड बनाउने नाममा अनियमितताका तानाबाना बुन्ने गरिएको छ । महामारीमा पनि सेटिङ गरी कमाउने क्रम रोकिन सकेको छैन ।

    यसैक्रममा नेपाल प्रहरी अस्पतालकी प्रमुख एआइजी डा. आशा सिंहले अस्पतालमा आइसोलोसन बेड राख्नका लागि प्रिफ्याब निर्माणमा अनियमितता गर्न आफ्नै सेटिङ भएको सरोकार निर्माण सेवालाई दिएकी छन् । र, आइसोलेसनका लागि प्रिफ्याब बनाउने क्रममा गुणस्तर मापदण्ड अनुसारको नभएको र प्रहरी प्रधान कार्यालयसँग समन्वयसमेत नगरेकाले प्राविधिकहरुले सुपरभिजन समेत गर्न अस्वीकार गरेका छन् ।

    गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेमार्फत् अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई भनसुन गराई उनले सोझै आइसोलेसन बेड बनाउन बजेट लगेकी हुन् । बजेट लानु राम्रै भए पनि उनले त्यसमा गर्न लागेको अनियमितता मुख्य कुरा हो । उनले पहिलेदेखि नै सेटिङ रहेको सरोकार निर्माण सेवाका संचालक जयराम अर्याललाई नै कथित प्रतिस्पर्धाका नाममा ठेक्का दिएपछि नै भ्रष्टाचार गर्ने उनको नियत प्रष्ट भएको प्रहरी स्रोत बताउँछ ।

    आइसोलेसन बेड निर्माण गर्नका लागि एआइजी सिंहले प्रहरी प्रधान कार्यालयसँग समन्वय नै नगरी १ करोड ५० लाख रुपैयाँ बजेट ल्याएकी हुन् ।

    र, नाममात्रको प्रतिस्पर्धाको कागजी प्रक्रिया देखाएर सरोकार निर्माण सेवालाई उक्त ठेक्का दिएकी छन् । र, महानगरीय प्रहरी गण २ नम्बरका गणपतिको सरकारी निवास नजिकै बन्दै गरेको अस्थायी प्रकृतिको अस्थायी किसिमको आइसोलेसन वार्ड निर्माण भइरहेको छ । अर्यालको सरोकार निर्माण सेवालाई ठेक्का दिनेगरी सेटिङ मिलाउने काममा एआइजी सिंहलाई सघाउने काम अस्पतालको प्रबन्धका सई दीपक थापा, लेखाअधिकृत हिरा केसीले गरेका छन् ।

    सरोकार निर्माण सेवा यसअघिदेखि नै प्रहरी अस्पतालका ठेक्कापट्टा पाउने गरेको थियो । यही समूहको सेटिङमा सरोकार निर्माण सेवालाई यसअघि अस्पतालजन्य फोहोर मैला ब्यवस्थापनका लागि उपकरण राख्ने भवन निर्माणको काम पनि दिइएको थियो । २३ लाख ७७ हजार ८ सय रुपैयाँको यो ठेक्कापछि आइसोलेसन वार्डका लागि अस्थायी प्रकृतिको वार्ड बनाउन पनि सरोकारले नै पाएको छ । डेढ करोड रुपैयाँको यो ठेक्कामा ठूलो कमिसनको खेल भएको स्रोत बताउँछ ।

    प्रहरीका कुनै पनि भौतिक संरचनाको गुणस्तर हेर्ने काम आवास तथा भौतिक विभागले गर्दछ । सरकारी बजेटबाट प्रहरी अस्पतालमा ३ वटा अरु भवन निर्माण भइरहेका छन् । ती भवनको सुपरभिजन गर्ने काम प्रहरी प्रधान कार्यालयबाट खटिएका प्राविधिक डीएसपी इश्वर थापा छन् । एआइजी आशा सिंहले आइसोलेसन बेड राख्नका लागि निर्माण भइरहेको संरचना पनि निरीक्षण गरिदिन केही दिनअघि भनिन् ।

    तर डीएसपी थापाले प्रहरी हेडक्वाटरले मलाई हेर्ने अधिकार दिएको छैन भनेर अस्वीकार गरे । प्रहरी प्रधान कार्यालयको समन्वय र हाम्रो बजेटबाट बनेको पनि होइन, के हो कसरी निर्माण भएको हो भनेर उनले प्रश्न उठाए । अस्पतालका एआइजी आशा सिंह र इन्जीनीयरबीच द्धन्द्ध भएपछि हेर्दिन हेर्दिनँ भनेका छन् ।

    एआइजी आशाले आइजीपी ठाकुर ज्ञवालीलाई हेडक्वाटरका प्राविधिकले आइसोलेसन बेड राख्ने संरचना नहेर्ने भनेको गुनासो गरे । आइजीपी ज्ञवालीले प्राविधिक डीआइजी लोकेश सिंहलाई अस्पतालको आइसोलेसन बेड राख्ने संरचनाको मापदण्ड हेर्न निर्देशन दिए । आइजीपीको निर्देशनपछि लोकेश सिंहले ठेक्का प्रक्रियामा समन्वय नगरेकाले जिम्मा हामीले लिन नसके पनि हेरेजस्तो गरिदिन निर्देशन दिएका थिए । प्रहरी हेडक्वाटरका प्राविधिकले निरीक्षण नगरेपछि उक्त अस्थायी आइसोलेसनको संरचना मनखुसी ढंगले ठेकेदार अर्यालले निर्माण गरिरहेका छन् ।

    ठेकेदार अर्यालसँग सेटिङ मिलाउने दीपक थापा प्रहरी हेडक्वाटरको कर्मचारी प्रशासनमा लामो समय असईका रुपमा कार्यरत थिए । त्यसक्रममा गृहमन्त्रालयका पूर्व सचिव प्रेमकुमार राईसँग उनको चिनजान भयो । राईलाई नै चाकरी गरी शान्ति मिसन गए । मिसनबाट फर्किएपछि ओखलढुंगा घर भएका उनलाई राईले नै अस्पतालमा सरुवा गराएका हुन् ।

    तत्कालीन एआइजी दुर्गा पुनलाई भनेर अस्पतालमा सरुवा गराएपछि त्यहाँको प्रबन्ध हेर्ने जिम्मेवारी दिन पनि उनैले दबाब दिएको खुलेको छ । ८ बर्षदेखि अस्पतालको प्रबन्धमा बसेका सई तुलसी शर्मालाई विस्थापित गरी थापा पूर्वसचिव राईकै दबाबमा स्थापित भएका हुन्,खबर नव जनप्रहारमा खबर छ ।

    लेखा अधिकृत केसीलाई भने पूर्वआइजीपी सर्वेन्द्र खनालका विश्वासपात्र प्रबन्धका इन्स्पेक्टर केशव गौतमले केही महिनाअघिमात्र सेटिङ गरी सरुवा गराएका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…