उर्लावारी-३ स्थित मंगलबारे अस्पतालाई केन्द्र सरकारले प्रदेश सरकार मातहत राखेर व्यवस्थापन गर्न दिने निर्णय गरेको छ । हाल उर्लावारी नगरपालिका मातहत रहेको मंगलबारे अस्पताललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ सरकार अन्तर्गत राखेर व्यवस्थापन गर्न दिने निर्णय गरेको हो ।
केन्द्रीय सरकारको निर्णयसँगै अब मंगलबारे अस्पताल प्रदेश सरकार मातहत जाने छ । स्थानीय तह मातहतको अस्पताललाई प्रदेश मातहत लैजानका लागि केन्द्रीय सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने प्रावधान छ ।
साउन ५ गतेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव पेश गरेका थिए ।
पक्रिया पुरा गरेर अब चाँडै नै मंगलबारे अस्पताल प्रदेश मातहत जाने छ । प्रदेश मातहत गएपछि अस्पताल व्यवस्थापन समिति पनि परिवर्तन हुनेछ ।
हालको नियम अनुसार प्रदेश अस्पतालको अध्यक्ष सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिका सभापति हुने प्रावधान छ । यस्तै सञ्चालक समिति सदस्य हुनका लागि विभिन्न योग्यताहरु राखिएको छ ।
मंगलबारे अस्पताललाई प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने आफ्नो नीति तथा कार्यक्रममा ल्याएपछि विगत दुई महिनादेखि मंगलबारेमा आन्दोलन जारी छ भने रिले अनशन बसेको पनि महिनादिन बितिसकेको छ ।
अस्पतालको नाम परिवर्तन गर्दा मंगलबारेको पहिचान मेटिने भन्दै नेपाली कांग्रेससहित ५ दलले संयुक्त रुपमा संघर्ष समिति बनाएर आन्दोलन गर्दै आइरहेका छन् ।