काठमाडौं, १८ असार । विश्वकप २०१८ अन्तर्गत नकआउट चरण पाँचौ खेलमा पूर्व विश्व विजेता ब्राजील र पछिल्लो ६ वटा विश्वकपमा लगातार नकआउट चरणबाटै आउट भएको मेक्सिको बिच खेल हुँदैछ । सोमबार हुने यो खेल रसियाको समारा शहरमा नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।
समुह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी गरेर सुस्त सुरुवात गरेको ब्राजीलले अन्तिम खेलसम्म पनि नकआउट चरण पुग्ने ठेगान नभएपनि अन्ततः समुह विजेताको हैसियतमा नकआउट चरणमा पुगी बलियो राष्ट्रको छविलाई न्याय गरेको छ ।
पछिल्लो विश्वकपमा जर्मनीसँग भोगेको लज्जास्पद पराजय भुलि यो विश्वकपमा उक्त गल्तीलाई सुधार्ने लक्ष्य सहित आएको ब्राजीलले पहिलो चरणको सफलता पाएपनि मेक्सिकोको सामना गर्नु परेकोले अबको यात्रामा ठुलो प्रश्न चिन्ह खडा भएको छ । जर्मनीलाई हराएको मेक्सिकोको क्षमतासँग परिचित ब्राजीलले यो विश्वकपमा हस्ती राष्ट्रहरु जर्मनी, पोर्चुगल, स्पेन र अर्जेन्टिना जस्ता राष्ट्र बाहिरिइ सकेको देखेकोले मनमा चिसो महसुस गरेको हुनुपर्छ ।
पछिल्ला २ खेलमा जित प्राप्त गरेको ब्राजीलको मनोबल अहिले उच्च छ । तथापी मेक्सिकोले पूर्ण शक्ति लगाएर गोलहरुको प्रयास गर्ने भएकोले ब्राजीलको डिफेन्सको थप सक्रियताको आवश्यकता पर्नेछ भने ब्राजीलेको आक्रमणलाई थप अवसर पनि प्राप्त हुनेछ ।
त्यस्तै क्रिष्टीयानो रोनाल्डो, लियोनल मेसी जस्ता हस्तीहरु यस प्रतियोगिताबाट बाहिरिइ सकेको अवस्थामा आज नेमारलाई विश्व फुटबल सामु आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पनि प्राप्त भएको छ ।
अर्कोतर्फ समुह चरणको पहिलो खेलमा जर्मनीलाई चित पारेको मेक्सिकोले यो विश्वकपमा तहल्का मच्चाउने छाँट देखाएपनि अन्तिम खेलमा स्वीडेनसँग नराम्रोसँग पराजित हुँदा नकआउट चरणको यात्रामै प्रश्न चिन्ह लागेको थियो । साउथ कोरियाले जर्मनीलाई नहराएको भए मेक्सिको घर फर्किइसकेको हुने थियो ।
तथापी युवा खेलाडिको बाहुल्य रहेको मेक्सिकोले जुनसुकै समयमा खेल उल्ट्याउने क्षमता भएकोले आजको खेलमा थप एउटा ‘अपसेट’ को योजना बुनिसकेको छ ।
तथापी इतिहासले यो खेलमा ब्राजीलकै समर्थन गरिरहेको छ । यि दुई देशले हालसम्म विश्वकपमा ४ खेल खेलेकोमा ब्राजीलले ३ खेल जितेको छ भने १ खेल बराबरी भएको छ । विश्वकपको यी चारै खेलमा ब्राजीलले ११ गोल गरेको छ भने मेक्सिकोले एक गोल पनि गर्न सकेको छैन ।
त्यस्तैगरी मेक्सिकोलाई ६ वटा विश्वकप देखि नकआउट चरण भन्दा अघि बढ्न नसकेको ‘जिंक्स’ ले पछ्याइरहेको छ । यस्तोमा प्रतियोगिताकै सबैभन्दा कडा प्रतिस्पर्धीले यो समस्या लम्ब्याउने अवस्था रहेकोले मेक्सिकोले आज विशेष प्रदर्शन गर्न जरुरी छ ।
आजको खेलमा विजयी हुने टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने तथा हार्ने टोलीको विश्वकप यात्रा यहिं टुंगिने भएकोले दुबै टोलीको लागि यो खेल अति महत्वपूर्ण छ । यी दुई टोलीले हालसम्म खेलेको शैली हेर्दा यो खेल रोमाञ्चक हुनेमा दुईमत छैन ।