• काठमाडौं । नेपाली कलाकारहरूको छाता संगठन ‘चलचित्र कलाकार संघ’ को नयाँ कार्यसमिति चयन हुने भएको छ । आगामी चैत २३ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन आउन अझै दुई साता बाँकी रहेकाले अध्यक्ष पदमा अन्यले पनि उम्मेदवारी घोषणा गर्ने सम्भावना छ । तर, लामिछाने र संग्रौलाले अगाडि नै घोषणा गरेकाले अर्को समूह वा प्यानल त्यति प्रभावकारी हुने छैन । किनभने सरिता र लयको प्यानलमा सबै चलचित्रकर्मी ध्रुवीकृत हुने भएका छन् ।

    अध्यक्षमा उम्मेदवारी घोषणा गरेकामध्ये सरिता संघकी महासचिव हुन् भने लयले यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनी रामकेशर बोगटीसँग पराजित भएका थिए । बोगटीको केही समयअघि असामयिक निधन भएको थियो । बोगटीसँग पराजित भए पनि लय फेरि अध्यक्षमा उठ्न लागेका हुन् ।

    सरिता र लय दुवैले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । लयले प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् भने सरिताले उम्मेदवारी मात्र घोषणा गरेकी छन् । स्व.बोगटीले राम्रो काम गरेको र उनले अघि सारेका कामलाई पूरा गर्ने अघिल्लो पटक उनैसँग पराजित लयले प्रतिबद्धता व्यक्त गरेका छन् । सरिता भने बोगटीकै प्यानलबाट महासचिवमा उठेकी हुन् ।
    ‘यही चैत २३ गते शनिबार हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दछु । मेरा सम्पूर्ण आदरणीय अग्रज चलचित्रकर्मीज्युहरू, सहकर्मी, सहधर्मी मित्रहरू मलाई साथ सहयोग र आशीर्वाद दिनु हुन अनुरोध गर्दछु,’ सरिताले फेसबुकमार्फत भनेकी छन् ।

    लय संग्रौलाले भने मेरा लामा एजेन्डा छैनन्
    अध्यक्षमा उम्मेदवारी दिएका लय संग्रौलाले आफ्नो नयाँ र लामो एजेन्डा नभएको बताएका छन् । ‘आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छु । मेरा त्यति लामा एजेन्डा पनि छैनन् । कलाकार संघको आधारभूत आवश्यकता, संघको क्रियाशीलता र कलाकारहरूलाई संघप्रति आकर्षित गर्ने खालका कार्यक्रमसहित चलचित्र क्षेत्रको अहिलेको अवस्थाभन्दा राम्रो बनाउनुका साथै हाम्रा चलचित्रलाई कसरी बचाउन सकिन्छ ? निमार्ताहरूलाई कसरी निरन्तरता दिन सकिन्छ ? सरसल्लाहमा अघि बढ्ने प्रतिबद्धताका साथ यो उम्मेदवारीको घोषणा गर्दछु,’ उनले लेखेका छन् । संघको भवन निर्माण कार्य एक वर्षभित्र पूरा गर्ने, कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि गर्ने, जीवन बीमा योजनालाई सक्रियताका साथ लागू गर्ने, कलकारहरूको हकहित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरूको जीवन निर्वाहका लागि उचित योजना ल्याउनेलगायतका बुँदा संग्रौलाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा छ ।

    दुवै टेलिफिल्मका कलाकार
    सरिता लामिछाने केही दिनमा पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारीमा छिन् । २०५५ सालदेखि कलाकारितामा आबद्ध उनले टेलिसिरियल ‘मुक्ति’ बाट अभिनय करिअर सुरु गरेकी हुन् । यसपछि उनले दर्जन बढी टेलिसिरियलमा आबद्ध भएर काम गरिन् । उनले दर्जन बढी नेपाली फिल्ममा अभिनयसमेत गरेकी छन् । सरिता निर्देशक ऋषि लामिछानेकी श्रीमती हुन् ।
    लय संग्रौता पुराना कलाकार हुन् । थुप्रै टेलिसिरियलमा काम गरेका उनी पछिल्लो समय चलचित्र निर्माण, निर्देशन र अभिनयमा व्यस्त छन् । ६ दर्जनभन्दा बढी सानो पर्दाका टेलिशृंखला निर्देशन गरेका उनले ‘लोग्ने मान्छे’ लगायतका चलचित्र निर्देशन गरेका छन् । पुनः कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उनले सरितालाई पराजित गर्न निकै गाह्रो हुने ठानिएको छ ।

    कांग्रेस र कम्युनिस्टको चुनाव
    पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पनि राजनीति घुसेको छ । प्रत्येक कलाकार कुनै न कुनै संगठनमा आबद्ध छन् । चलचित्रसँग सम्बन्धित हरेक संघसंगठनको निर्वाचन दलीय प्रभावबाट मुक्त हुन सकेका छैनन् । विगतमा पनि कलाकार संघको निर्वाचनमा पार्टीगत प्रतिस्पर्धा देखिएकै हो । जसमा रामकेशर बोगटीले कांग्रेस समर्थित कलाकार र लय संग्रौलाले वामपन्थी पक्षको प्रतिनिधित्व गरेका थिए । त्यसबेला बोगटीले धेरै मत अन्तरमा संग्रौलालाई पराजित गरेका थिए । बोगटीकै प्यानलबाट महासचिवमा उठेकी सरिताले पनि धेरै मतअन्तरमा चुनाव जितेकी थिइन् । महिला पनि भएको र संघकै महासचिव अध्यक्षमा उठेकाले लयका लागि चुनाव जित्नु फलामको च्यूरासरह सावित हुने अनुमान गरिएको छ ।

    लय संग्रौलालाई पूर्वएमाले र माओवादी कलाकारको साथ छ । तर, जहिले पनि आफू नै पदमा हुनुपर्ने भन्दै उनले हठ गरेपछि चलचित्रकर्मीहरू भड्किएका छन् । पुराना पुस्ताका कलाकारसँग पनि लय संग्रौलाको हार्दिकता छैन । जसलाई पनि हप्काउने स्वभावका कारण अलोकप्रिय छन् । नयाँ कलाकारलाई आफूले चान्स दिएकाले मलाई नै भोट दिन्छन् भन्ने उनको विश्वास देखिन्छ । हाल कम्युनिस्ट पार्टीको सरकार रहेकाले धेरै कलाकारलाई लय संग्रौलाले प्रभावमा पार्न सक्ने आशंका पनि गरिएको छ । त्यसका लागि लयले दिनशे डिसी, उत्तम केसीलगायतका कलाकारलाई परिचालन गरिसकेका छन् । स्रोतका अनुसार संघका अधिकांश पूर्वअध्यक्ष सरिता लामिछानेको पक्षमा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…