• काठमाडौं, १५ चैत । अहिलेसम्मका राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस अहिले गुटगत प्रतिष्पर्धाका कारण थला परेको छ ।

    राणा शासन हटाउने, सशस्त्र द्वन्द्व मच्चाइरहेको तत्कालिन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने र राजालाई राजदरबारबाट बाहिर निस्कन बाध्य बनाई गणतन्त्र स्थापना गर्ने कार्यको नेतृत्व गरेको कांग्रेस अहिले झिनो सिट संख्याकासाथ संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा छ ।

    संसदमा नेतृत्वदायी भूमिकामा रहने र सरकारको नेतृत्व गर्ने कांग्रेस अहिले यस्तो अवस्थामा पुग्नुको मुख्य कारण पार्टीमा गुट झांगिनु र कार्यकर्ता पार्टीमुखी नभई नेता मुखी हुनु हो ।

    कार्यकर्ता सबै आफ्नो नेताको पक्षमा मात्रै लाग्दा सिंगो पार्टीको संगठन चलायमान हुन सकिरहेको छैन । गुटको होडबाजीले संगठन निर्माणमा कसैको ध्यान पुग्न सकिरहेको छैन ।

    प्रतिपक्षीमा रहेको बेलामा लामो समय सत्तामा बसेको अनुभवलाई प्रयोगमा ल्याएर सत्ता पक्षलाई अफ्टेरो पार्नुको साटो सानातिना, खुद्रा मसिना कुरामा अल्झिरहेको छ । सडक र सदनबाट सरकारलाई अफ्टेरो पार्नु पर्ने बेलामा त्यसको विपरित आन्तरिक गुटगत राजनीतिको किचलोमा कांग्रेस नेताहरु लागिरहेका छन् ।

    नेताहरु अब एक बर्षमा हुने पार्टीको १४ औँ महाधिवेशनमा नेतृत्व हात कसरी पार्ने भन्ने ध्याउन्नमा मात्रै लागिरहेका छन् । अहिले कांग्रेसमा मुख्यगरी चार गुट छन् । तीन वटा देखावटी र एउटा अदृष्य गुट छ ।

    गुट अन्त्य गर्ने विषय सधै चर्चामा आएपनि त्यो हुन सकिरहेको छैन । गुटले पार्टीलाई वैचारिकरुपले बलियो बनाए पनि सांगठानिक हिसाबले कमजोर बनाइरहेको छ ।

    काँग्रेसको यस्तो हविगत हुँदासमेत उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक पार्टी यसरी नै चल्ने बताउँछन् । उपसभापति निधिलाई संगठनको चिन्ता भन्दा पार्टी सभापति शेरबहादुर देउवाको आशीर्वाद भए पुग्छ ।

    कार्यकर्ता र जनतामा कुनै पहुँच नरहेका नीधि देउवाको फेरो समाएर मात्रै यहाँसम्म पुगेका हुन् । अहिले कांग्रेसमा संस्थापनमा उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकलगायत केन्द्रिय समितिमा रहेका बहुमत नेता छन् ।

    नेता रामचन्द्र पौडेल गुटमा प्रकाशमान सिंह, रामशरण महत, नवीन्द्रराज जोशी, सीतादेवी यादव, दिलेन्द्रप्रसाद बडु र बलबहादुर के.सी.ले साथ दिँदै आएका छन् ।

    चौथो गुट भनिने कोइराला परिवारको गुटमा डा. शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, दीपक गिरीलगायत छन् । उनीहरुलाई बाहिर पौडेल गुट नै भनेर चिनिन्छ । तथापि पछिल्लो समय विरासत फर्काउन कोइरालाहरु एकजुट भएको समाचार स्रोतले बताएको छ ।

    १३ औं महाधिवेशनबाट तेस्रो गुट बनाएका कृष्णप्रसाद सिटौला गुटमा गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल, शिवप्रसाद हुमागाईलगायत नेता हन ।

    सबै नेतालाई गुटको खेती चलाएर कसरी नेतृत्व हात पार्ने भन्ने चिन्ता छ । तर, संगठन कसरी सुदृढ बनाउने र फेरी गुमेको विरासत फर्काउने भन्ने चिन्ता कसैलाई छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…