• काठमाडौं। ढिलो गरी शुरु भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे पनि छलफल हुने भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ सवा ७ बजेमात्र शुरु भएको हो । केही मिनेट बसेर आइतबारको बैठक सकिएको पार्टी मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले आगामी महाधिवेशनबारे पनि यही केन्द्रीय समिति बैठकमा छलफल हुनुपर्ने अडान राखेपछि काँग्रेस केन्द्रीय समितिको बैठक बस्न ढिलाई भएको हो । नेताहरुबीच यो विषयमा पनि छलफल गर्ने सहमति भएपछि बैठक शुरु भएको हो ।

    आइतबारको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा छलफल हुने १४ एजेण्डा प्रस्तुत गरेको मुख्य सचिब पौडेलले जानकारी दिए ।
    बैठकको शुरुमा सभापति शेरबहादुर देउवाले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” मा खटिएका सबै केन्द्रीय प्रतिनिधिहरु, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्व, देश–विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकलाई बधाइ एवं धन्यवाद दिए ।

    त्यसपछि सभापतिको निर्देशनानुसार महामन्त्री खड्काले बैठकका एजेण्डा प्रस्तुत गरे ।

    यस्ता छन् एजेण्डाहरुः

    १ नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको “नेपाली कांग्रेसको नियमावली, २०७६” समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गरिने ।

    २ पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा ।

    ३ विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा ।

    ४ २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने ।

    ५ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने ।

    ६ केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।

    ७ नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।

    ८ भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा ।

    ९ पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा ।

    १० जनसम्पर्क समितिका सम्बन्धमा ।

    ११ स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा ।

    १२ तनहु जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा ।

    १३ देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ ।

    १४ बिविध

    एजेण्डाको प्रस्तुति प्रश्चात नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले “नेपाली कांग्रेसको नियमावली, २०७६” प्रस्तुत गरेका छन् । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वितरण गरी आइतबारको बैठक समापन भएको छ । काँग्रेसको अर्को बैठक आगामी असार २७ गते बस्ने जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…